भोजपुरका स्थानीयकाे रोजाइमा आयुर्वेदिक उपचार

भोजपुर, ५ चैत्र । आयुर्वेदिक उपचार पद्धति भोजपुरका स्थानीयको रोजाइमा पर्न थालेको छ । कम खर्चमा रोग निको हुने भएपछि स्थानीय यस्तो उपचार पद्धतिमा आकर्षित भएका हुन् ।
आयुर्वेदिक औषधिले अन्य औषधिभन्दा स्वास्थ्यमा कम असर पर्ने विषयमा जानकारी पाएसँगै स्थानीयमा विश्वास बढेको देखिन्छ । दैनिकरूपमा एक सय जनासम्म उपचार गराउन आउने गरेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरको भनाइ छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्याङ्कानुसार गत आर्थिक वर्षमा आठ हजार चार सय १५ बिरामीले सेवा लिएका छन् । उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नशासम्बन्धीका रोगी रहेका जनाइएको छ ।
बिरामीको सुविधालाई ध्यानमा राख्दै स्वास्थ्य उपकरण विस्तारमा समेत ध्यान दिएको कार्यालयले जनाएको छ । तर दक्ष चिकित्सकको कमीले सेवा प्रवाहमा भने समस्या हुने गरेको छ ।
उपचारमा आउने बिरामीलाई विभिन्न आयुर्वेदिक औषधिको प्रयोगसँगै उपकरणको सहायतले सेकताप गर्दै रोगअनुसारको उपचार पद्धति अपनाइएको कार्यालयको भनाइ छ । केन्द्रले अहिले पनि पञ्चकर्म, पूर्वकर्म सेवा सञ्चालन गरिरहेको भए पनि चिकित्सक अभावमा सेवा प्रवाह गर्न केही कठिनाइ रहेको कार्यालयले जनाएको छ ।
मानिसहरू खास गरेर एन्टिवायोटिक औषधि सेवन गरेर रोगलाई चाँडो निको बनाउन चाहने भए पनि भोजपुरमा भने आयुर्वेदिक उपचारमा आकर्षित भएका हुन् । विभिन्न विधि प्रयोग गरेर स्वास्थ्यकर्मीले सेवा दिन थालेपछि बिरामीको यसतर्फ चासो बढेको देखिन्छ ।
लामो समयसम्म ठुल्ठूला अस्पतालमा गएर एलोपेथिक विधिबाट उपचार गराउँदा रोग निको नभएको बताउँदै बिरामी उपचारका लागि जिल्ला आयुर्वेद उपचार केन्द्र पुग्ने गरेका छन् । स्थानीय केशरबहादुर श्रेष्ठले बाहिरका ठूला अस्पतालमा गएर उपचार गराउँदा निको नभएको रोग आयुवेर्दिक उपचारबाट निको भएको अनुभव सुनाए ।
केन्द्रमा पञ्चकर्म सेवाअन्तर्गत स्नेहन र स्वेदनलगायत सेवा सञ्चालनमा छ । बाथरोग, हार्डजोनी, अम्लपित्त, पायल्सलगायत रोगको प्रभावकारी विधिबाट उपचार हुने भएकाले सेवाग्राही बढेका छन् ।
आयुर्वेदिक औषधिले मानिसको शरीरमा राम्रो काम गर्ने भएकाले यसमा आकर्षण बढ्दै गएको कार्यालयका वैद्य अनिलकुमार मण्डलले बताए । बिरामीको चाप बढे पनि आफ्नो भवन तथा दरबन्दीअनुसारका चिकित्सक तथा कर्मचारी नहुँदा भने सहज सेवा प्रवाहमा कठिनाइ भएको कार्यालयले जनाएको छ ।
विसं २०५८ देखि जिल्लामा आयुर्वेदिक जडीबुटीद्वारा मिश्रित औषधि तथा चूर्ण सर्वसाधरणलाई वितरण गर्न सुरु गरिएको थियो । भोजपुरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुर, टक्सार औषधालय, दिङ्ला औषधालय र ओख्रे औषधालय शाखा रहेका छन् ।