इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि

काठमाडौं, १० चैत्र । इस्लाम धर्मावलम्बीको महान पर्व रमजान आज शुक्रबारदेखि सुरु भएकाे छ । इस्लाम धर्मावलम्बीहरूले एक महिनासम्म मनाउने यस पर्व बिहान घाम उदाउनु भन्दा अघिकाे र बेलुकी घाम अस्ताउनु भन्दा पछिकाे समयलाइ लिएर राेजा (निराहार ब्रत) बस्ने गर्छन् ।

इस्लाम धर्मावलम्बी (मुसलमान समुदाय)ले उर्दू क्यालेण्डरअनुसार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म रोजा बस्नुपर्छ। राेजा बस्न शरीरलाई चोखो राख्नु पर्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ।

रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन्। रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो।

रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ।

गरिब र दीन दुःखीलाई सेवा गर्नु, दान दिनु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान व्रत बस्न आज साँझ मुसलमानले आकाशतिर चन्द्रमा हेर्ने प्रचलन छ।

रमजान महिना मुसलमानका लागि निकै महत्त्वपूर्ण एवं पवित्र हो र यसमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने गर्दछ।

त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान समुदायले रोजा बस्नुलाई गर्व मान्दछ। नाबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन।