संविधानको मर्म कुल्चिदैँ लुम्बिनीमा सरकार बनाउने विपक्षीको हतारो

दाङ, १२ चैत । लुम्बिनी प्रदेशमा ८७ सांसद छन् । अहिले नेकपा (एमाले) नेतृत्वको सरकार लुम्बिनीमा छ । अहिले नयाँ गठबन्धन बनेपछि २९ सांसद रहेको एमाले नेतृत्वको सरकार अल्पमतमा पर्ने त निश्चित छ । किनकी नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ । अहिले उक्त प्रदेशमा कांग्रेसका २७, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४–४, जनमत पार्टी र जसपाका ३–३ , नेकपा एकीकृत समाजवादीका १ र २ स्वतन्त्र सांसद छन् । यी लगभग सबै दल गठबन्धनमा छन् ।

यसो हुँदा गठबन्धनबाटै सरकार गठनका लागि सांसद संख्या पुग्छ । तर, अहिले नेपाली कांग्रेसका नेता तथा दाङको निर्वाचन क्षेत्र नं.३ (क) बाट निर्वाचित सांसद डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन माग गर्दै ९ दलको समर्थन लिएर प्रदेश प्रमुख कहाँ पुग्नु भएको छ ।

आइतबार लुम्बिनीमा नेकपा माओवादी केन्द्रबाट र जनमतबाट मन्त्री बनेका सबै मन्त्रीहरू पदबाट राजीनामा दिएपछि अहिले एमालेका तर्फबाट मुख्यमन्त्री रहनु भएका गिरीलाई एक महिनाभित्र पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक सुविधा छ ।

संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिन मुख्यमन्त्रीसँग ३० दिनको समय हुन्छ। संविधानको धारा १८८ को ख मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नु पर्नेछ। विश्वासको मतको प्रस्ताव प्रदेश सभाबाट अस्वीकृत भएपछि मुख्यमन्त्री पदमुक्त हुन्छन्।

तर, संविधानकै वर्खिलाप गर्दै विपक्षी गठबन्धनले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न दबाबसहितको पत्र बुझाएपछि त्यहाँ अन्योल देखिएको छ । संविधानको प्रावधानविपरीत हतार गरेर नयाँ सरकार बनाउन लागेपछि अहिले विपक्षी गठबन्धनको आलोचना सुरु भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनलाई आठ दलका नेता तथा १ स्वतन्त्र सांसदले हस्ताक्षर गरी धारा २ अनुसार मुख्यमन्त्री बनाउन आग्रह गर्दै मागपत्र पेस गरिसकेका छन् । उनीहरुले हस्ताक्षरसहितको सो पत्र सभामुख तुलाराम घर्तीलाई पनि बुझाएका छन् । पुस २७ गते नेकपा एमालेका पोलिटब्युरो सदस्य रुपन्देहीका लीला गिरी माओवादीलगायत ७ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।