सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी, मन्त्रालय भागबन्डामा सकस
काठमाडाैं, १५ चैत्र । बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। मन्त्रालय भागबन्डा र सरकारका न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न १० दलका शीर्ष नेताबीच बैठक बसेकाे हाे ।
सरकारका न्यूनतम साझा कार्यक्रम भन्दा मन्त्रालय भागबन्डा सकस बनेकाे छ । कसले कति मन्त्रालय लिने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद बिस्तारमा पनि ढिलाइ भएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत छन्।
बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश गरेका थिए।
न्यूनतम साझा कार्यक्रमको मस्यौदामा समावेश गरिएका विषयबस्तु अध्ययन गरी थपघट गर्न आज बैठक बसेको हो। साथै मन्त्रालय भागबन्डाबारे पनि दलहरू सहमतिमा पुग्न छलफल गर्ने तयारीमा छन् तर हालसम्म सहमति जुट्न सकेकाे छैन । दलहरूले आफूहरूले पाउनुपर्ने मन्त्रालय संख्या दाबी गरिसकेका छन्।
यसबारे आज थप छलफल गरी सहमतिमा पुग्ने दलहरूले बताए पनि सांसद सङ्ख्याको आधारमा मन्त्रालय भागबन्डा गर्ने दलहरुबीच सामान्य छलफल भएपनि सरकारमा सहभागी हुने दलको सङ्ख्या बढेकाले भागबन्डा मिलाउन सकस भएको हाे ।