सुनकोसीका दीर्घरोगीलाई पालिकाद्वारा निःशुल्क औषधि
सिन्धुपाल्चाेक, १९ चैत्र । सिन्धुपाल्चाेककाे सुनकोसी गाउँपालिकाले दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको छ ।
पालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई निःशुल्क औषधि वितरण गर्न थालेको हाे । गाउँपालिकाले सुनकोसी–५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुआत गरेको छ ।
गाउँपालिकाले एक दिनको बृहत् स्वास्थ्य शिविर पनि आयोजना गरि पालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले औषधि वितरणको शुभारम्भ गरे ।
काठमाडौँको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण समुदायलाई लक्षित गरी वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो ।
शिविरमा स्त्री रोगको विशेषज्ञ सेवा, नाक, कान, घाटीको विशेषज्ञ सेवा लगायत प्रेसर, सुगर, दम र सामान्य चिकित्सक सेवा संचालन गरिएको थियो । शिविर बाट जम्मा २५२ जनाले सेवा लिएका छन् ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर दीर्घरोगीलाई वडामा निवेदन दिन आग्रह गरेको थियो । सोही आधारमा गाउँपालिकाभरका चार सय बढीलाई अब पालिकाले निःशुल्क औषधि उपलब्ध गराउने गाउँपालिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।