देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा दुई महिला पक्राउ
काठमाडौं, २६ कात्तिक । देउसीभैलो खेल्ने क्रममा सार्वजनिक स्थलमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देहीबाट दुई महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ की २१ वर्षीया प्राप्ति बस्नेत रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले पक्राउ गरेको हो।
रुपन्देहीका डीएसपी कृष्णकुमार चन्दका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
उनीहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित महिलवार बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको डीएसपी चन्दले जानकारी दिए।
