सेतो मत्स्येन्द्रनाथको जात्रा सकियो, अब रातो मत्स्येन्द्रनाथको तयारी
ललितपुर, २२ चैत । काठमाडौंमा सेतो मत्स्येन्द्रनाथको जात्रा भर्खर सम्पन्न भयो । काठमाडौंमा सेतो मत्स्येन्द्रनाथको जात्रा सम्पन्न भए सँगै ललितपुरमा रातो मत्स्येन्द्रनाथ जात्राको तयारी शुरु भएको छ ।
स्थानीय नेपालभाषामा सेतो मत्स्येन्द्रनाथलाई जनबहाःद्यः भनिन्छ भने रातो मत्स्येन्द्रनाथलाई बुंगद्यः भनिन्छ ।
बुंगद्यःको जात्रा पनि जनबहाःद्यःलाई जस्तै अग्लो रथमा राखेर चलाउने गरिन्छ । नेपालमा यति अग्लो रथ बनाई जात्रा चलाइने देवताहरू यही दुई मात्रै हुन् ।
जात्राका लागि यही आउँदो चैत २५ गते शनिवारदेखि रातो मत्स्येन्द्रनाथको रथ निर्माण शुरु गरिने भएको छ । ललितपुरको पुल्चोकमा यो रथ बनाउने गरिन्छ ।
रातो मत्स्येन्द्रनाथको रथ सेतो मत्स्येन्द्रनाथको भन्दा अग्लो हुनुका साथै जात्रा पनि लामो समय चलाउनुपर्ने भएकोले यो रथ बनाउन समय पनि अलि लामै लाग्ने गर्दछ ।
स्मरणीय छ, करिब दुई महिना चल्ने रातो मत्स्येन्द्रनाथको जात्रालाई नेपालकै सबैभन्दा लामो जात्रा भनिन्छ ।
मूल रथ निर्माण गर्ने कार्य चैत २५ देखि शुरु हुने भए पनि रथमा जोड्नुपर्ने काठका सामग्री, रथको सबैभन्दा माथि छतमा रहने बाय्मो आदि जस्ता अंगहरू बनाउने काम भने गत दुई साता अघिदेखि नै शुरु भइसकेको छ ।
ललितपुरस्थित रातो मत्स्येन्द्रनाथको मन्दिर रहेको तःबहालमा यो कार्य भइरहेको हो ।
चैत २५ गते पुल्चोकमा रथ निर्माण कार्य शुरु गर्नु अघि चैत २४ गते रातो मत्स्येन्द्रनाथको महास्नान (न्हवं) गरिन्छ । महास्नान भने लगनखेलमा बनाइएको न्हवं डबलीमा सम्पन्न गरिन्छ ।
यता लगनखेलमा महास्नान सकिएपछि उता पुल्चोकको रथ बनाइने ठाउँमा ‘हामो की’ ठोक्ने गरिन्छ ।
‘हामो की’ भनेको रथ निर्माण गर्ने ठाउँमा गाडिने किल्ला जस्तै हो । यो चार ठाउँमा गाडिन्छ । भोलिपल्ट यो ‘हामो की’ ठोकिएको ठाउँमै रथको पाङ्ग्रा गुडाउँदै अड्याउने गरिन्छ । पाङ्ग्रा अड्याएपछि रथ निर्माण कार्य विधिवत् रुपमा आरम्भ भएको मानिन्छ ।
यसरी निर्माण गरिएको अग्लो रथमा वैशाख ८ गतेका दिन श्री रातो मत्स्येन्द्रनाथलाई रथारोहण गरी विराजमान गराइन्छ । यहाँ भने सेतो मत्स्येन्द्रनाथको जस्तो रथारोहण गर्ने बित्तिकै रथ तान्ने गरिँदैन । रथारोहण गरिएको चार दिन पछि मात्रै रथ तान्ने गरिन्छ ।
अर्थात् यो वर्ष आउँदो वैशाखको ११ गते सोमवारका दिनदेखि जात्रा शुरु हुन्छ । उक्त दिन पुल्चोकबाट तानेको रथ गाःबहालमा ल्याइ पुर्याइन्छ ।
रातो मत्स्येन्द्रनाथको रथलाई साइत हेरी हेरी तान्नुपर्ने भएकोले यो जात्रा यति नै दिनको हुन्छ भन्न सकिँदैन । जात्रा लगभग दुई महिना चल्ने गर्छ । अन्तिम दिन जावलाखेलमा भोटो देखाई समापन हुन्छ । त्यसपछि मत्स्येन्द्रनाथलाई त्यहींबाट बुंगमती फर्काइन्छ ।