सन्दीपविरूद्धको मुद्दामा पिडित किशोरी स्वास्थ्य जाँच गर्ने चिकित्सकलाई बकपत्र गराउन आदेश

काठमाडौं, २६ चैत्र । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षीलाई बकपत्रका लागि बोलाउन आदेश दिएको छ ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश दिएकाे हाे ।

आजको सुनवाइ सुरू हुनासाथ वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेका थिए ।

यसअघि मुख्य डाक्टरको ठाउँमा सहयोगी डाक्टरको बकपत्र राखिएकोमा त्यसलाई अस्वीकार गर्दै वकिलहरूले सो माग गरेका हुन् ।

उनीहरुको बकपत्र भएपछि मात्रै यो मुद्दाको फैसला आउने छ । बकपत्रका लागि मिति भने तय भइसकेको छैन ।

त्यस्तै गत बुधवार पनि उक्त मुद्दाको पेसी तोकिएको थियो । तर पालो नआएकाले उक्त मुद्दालाई हेर्न नभ्याइनेमा राखिएको थियो ।