प्रदेशस्तरीय छनोटका लागि खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
खोटाङ, २९ चैत्र । खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् ।
जिल्ला खेलकुद विकासका प्रमुख लीलाभक्त केसीका अनुसार १० स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी र साकेला गाउँपालिकका विद्यार्थी सहभागी छन् ।
प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराते र तेक्वान्दोतर्फ गरी एक सय ३८ पदकका लागि प्रतिस्पर्धा हुने छ ।
दिक्तेलस्थित माटीकोरे खेलमैदानमा मङ्गलबार भएका खेलमा सटफुट थ्रोमा छात्रतर्फ हलेसी तुवाचुङका केलेमेण्ड श्रेष्ठ पहिलो, दिप्रुङ चुइचुम्माका अस्मिन तामाङ दोस्रो र केपिलासगढीका इरन राई तेस्रो भएका छन् भने छात्रातर्फ हलेसी तुवाचुङकी अनिशा भुजेल पहिलो, केपिलासगढीकी जेनिशा राई दोस्रो र हलेसी तुवाचुङकै अस्मिता राई तेस्रो भएका छन् ।
ज्याभलिन थ्रोमा छात्रतर्फ दिप्रुङ चुइचुम्माका अस्मिन तामाङ पहिलो, हलेसी तुवाचुङका मीनकुमार रानामगर दोस्रो र केपिलासगढीका रोचक राई तेस्रो तथा छात्रातर्फ हलेसी तुवाचुङकी मनिषा राउत पहिलो, ऐसेलुखर्ककी प्रमिला तामाङ दोस्रो र हलेसी तुवाचुङकै अस्मिता राई तेस्रो भएका छन् ।
यस्तै एक हजार पाँच सय मिटर दौडमा छात्रतर्फ साकेलाका तयाहाङ राई पहिलो, हलेसीका गणेश बस्नेत दोस्रो र हलेसीकै अजय राई तेस्रो भएका छन् भने छात्रातर्फ केपिलासगढीकी रोजिना बस्नेत पहिलो, सोही ठाउँकी रेवती राई दोस्रो र हलेसीकी अनिशा कार्की तेस्रो भएका छन् ।