बालकोट बैठक सकियो, यस्ता छन् छलफल भएका विषय
काठमाडौं, ४ वैशाख । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज प्रधानमन्त्री, सभामुख र कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुबिचको छलफल सकिएको छ ।
छलफलमा लामो समयदेखि कार्यवाहक प्रधानन्यायधीशको नेतृत्वमा सर्वोच चल्दै आएको भन्दै छिटै प्रधानन्यायधीश नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा दलहरु सकारात्मक देखिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । ‘लामो समयसम्म यो अवस्था रहिरहनु हुँदैन भनेर प्रधानमन्त्रीजीले यो विषयमा टुंगोमा पुर्याउन र ठोस पहलका लागि संवैधानिक परिषद्ले स्थायी नियुक्तिका लागि बैठक राख्ने र प्रधानन्यायधिशका बारेमा निर्णय गरेर अघि बढ्ने प्रस्ताव राख्नुभयो,’ लेखकले भन्नुभयो, ‘प्रधानमन्त्रीजीको प्रस्तावलाई प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले हुन्छ भन्नुभएको छ ।’
बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । ‘संसद संञ्चाललाई व्यवस्थित बनाउन समितिलाई पूर्णता दिने विषयमा पनि छलफल भएको छ,’ उहाँले भन्नुभयो ।
एमालेका सचेतक महेश बर्तौलाले पनि तीन दलका शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको जानकारी दिनुभयो । बैठकपछि नेकपा एमालेका सचेतक बर्तौलाले प्रधानन्यायाधीश नियुक्तिका लागि एमालेको तर्फबाट सहयोग रहने बताउनुभयो ।