खोटाङको बाक्सिलामा निःशुल्क स्वास्थ्य शिविर
खोटाङ, ६ वैशाख । खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
गाउँपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज (केएमसी), काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क शिविर सञ्चालन गरिएको हो ।
दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार एक सय दुई जनाले सेवा लिएका छन् । बाक्सिलास्थित पृथ्वी माविमा सञ्चालन गरिएको सो शिविरबाट पाँच सय ३० पुरुष र पाँच सय ७२ महिलाले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।
स्वास्थ्य शिविरबाट स्त्रीरोग, बालरोग, शल्यक्रिया, मानसिक तथा नशारोग, हाडजोर्नी तथा नशा, छालारोग, नाक, कान, घाँटी, आँखा, दन्तरोग, मिर्गौला रोग, मुटुरोगलगायतका बिरामीले सेवा लिएको गाउँपालिकाका अध्यक्ष समिर राईले जानकारी दिनुभयो ।
शिविरमा आवश्यक औषधिको व्यवस्था गाउँपालिकाले गरेको थियो । शिविरमा आउन तथा फर्किन गाउँपालिकाले सेवाग्राहीलाई बसको समेत व्यवस्था गरेका थियो । शिविर सञ्चालन गर्न काठमाडौँ मेडिकल कलेजबाट २६ चिकित्सकको टोली बाक्सिला आएको थियो ।
काठमाडौँ मेडिकल कलेजले केपिलासगढी गाउँपालिकाभित्रका नागरिकलाई सो अस्पतालमा पुगेर उपचार गराउँदा ५० प्रतिशत छुट दिने भएको छ ।
अस्पतालकातर्फबाट अध्यक्ष होमादेवी न्यौपाने, महाप्रबन्धक नारायणप्रसाद दाहाल, गाउँपालिकाका अध्यक्ष राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गुन्जन कार्कीबीचमा उपचार छुटलगायत सात बुँदे सम्झौता भएको हाे ।