रातो मत्स्येन्द्रनाथको रथारोहण सम्पन्न
ललितपुर, ८ वैशाख । रातो मत्स्येन्द्रनाथलाई आज पुल्चोकमा बनाइएको रथमा रथारोहण गराइयो । तःबहालस्थित मन्दिरबाट रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर बाजागाजा सहित पूल्चोक ल्याई रथमा विराजमान गराइएको थियो ।
मत्स्येन्द्रनाथको रथारोहण दर्शन गर्न पुल्चोकमा भक्तजनहरूको ठूलो भीड लागेको थियो ।
आज रथारोहण गरेपछि चार दिनसम्म मत्स्येन्द्रनाथलाई रथमै राखिन्छ । चार दिन पछि रथ तान्न शुरु गरिन्छ । आउँदो वैशाख ११ गते रातो मत्स्येन्द्रनाथको रथ तानेर जात्रा आरम्भ गरिनेछ । यसपछि यो जात्रा करिब डेढ महिना सञ्चालन हुनेछ । त्यसैले यो जात्रालाई नेपालकै सबैभन्दा लामो समय चल्ने जात्रा भनिन्छ ।
वर्षा र वर्षाका देवताः
रातो मत्स्येन्द्रनाथलाई वर्षाको देवता भनिन्छ । नेपालमा अनावृष्टिका कारण हाहाकार मच्चिएपछि भारतको आसामस्थित कामारुकामाक्षाबाट मत्स्येन्द्रनाथलाई नेपाल भित्र्याएको र त्यसपछि पानी परेको भन्ने किंवदन्ती रहेको छ ।
वर्षाको देवता भएका कारण मत्स्येन्द्रनाथलाई रथारोहण गरिने दिन एकै छिनलाई भए पनि वर्षा हुन्छ भन्ने विश्वास गरिन्छ । आज पनि मत्स्येन्द्रनाथलाई रथारोहण गर्नु अघि काठमाडौं र पाटनमा हावाहुरी सहित वर्षा भएको थियो ।
मत्स्येन्द्रनाथ जात्राको अन्तिम दिन भोटो देखाउने अवसरमा पनि वर्षा हुने विश्वास गरिन्छ ।
जुकाको औषधी खुवाइने दिनः
रातो मत्स्येन्द्रनाथलाई रथारोहण गरिएकै दिन उपत्यकामा साना बालबालिकाहरूलाई ‘पाला बी’ नामक बूटी खुवाउने गरिन्छ । यो बूटी खानाले पेटमा रहेको जुका बाहिर आई पेट सम्बन्धी रोग निको पारिदिने विश्वास गरिन्छ ।
पाला बी बूटीको बियाँ घोटेर खुवाइन्छ भने पाला बीलाई कपडाले सिलाएर जन्तर बनाई गलामा लगाइदिने चलन पनि रहेको पाइन्छ ।
अहिले पाला बी खुवाउने चलन हटिसकेको देखिन्छ । तर डाक्टरहरूले जुकाको औषधी भने वर्षको एक दिन खानु हुने राम्रो सुझाव दिने गर्दछन् । अहिले बजारमा जुकाको सजिलो औषधी नै किन्न पाइने भएकोले मानिसहरूले पाला बी खाने खुवाउने गरेको भने पाइँदैन ।
तस्बिरः सन्देश मुनिकार