संसदीय समितिकाे बैठकमा जुट्यो सहमति

काठमाडाैं, ११ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालसहित बस्नुभएकाे तीन दलका शीर्ष नेताहरूको बैठकले विभिन्न विषयमा सहमति जुटाउनु भएकाे छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कंग्रेसका अध्यक्ष देउवा र नेकपा एमालेका अध्यक्ष ओलीबीच भएको बैठकमा संसदीय समिति, संवैधानिक परिषदसम्बन्धी विधेयक अघि बढाउने र टिआरसीबारे विशेष समितिमा छलफल गर्नेजस्ता विषयमा सहमति गर्नुभएकाे हाे ।

बैठकमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बैठक सौहार्यपूर्ण र उपलब्धिमुलक रहेको बताउनुभएकाे छ ।

प्रमुख सचेतक गिरीले संसदका विभिन्न समितिहरूका सन्‍दर्भमा संसदीय सुनुवाई समितिको सभापति नेपाली कांग्रेसले लिने र राज्यका निर्देशक सिद्धान्त, नीति, दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा एमालेले लिने सहमति भएको बताउनुभएकाे छ ।

प्रतिनिधि सभाका १० विषयगत समितिमध्ये नेकपा एमालेले लेखा समिति र अर्को एक समितिको सभापति पाउने सहमति भएको पनि उहाँले बताउनुभयाे ।

‘संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाटै पारित गर्ने सहमति भएको छ,’ उहाँले भन्नुभयाे, ‘टिआरसीबारे विशेष समिति गठन गर्ने र त्यो समितिबाटै छलफल गरी अगाडि बढाउने सहमति भएको छ।’

प्रमुख तीनदलकाे सहमतिसँगै अब संवैधानिक परिषदबाट प्रधानन्यायाधीश नियुक्ति सिफारिस, संसदीय सुनुवाइ समिति गठनलगायतका सबै प्रक्रिया अघि बढ्नेछ ।