तनहुँ क्षेत्र नं १मा डा स्वर्णिम वाग्ले भारी मतले विजयी
तनहुँ, १२ वैशाख । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यकाे उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले भारी मतले विजयी हुनुभएको छ ।
उहाँका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उहाँ विजयी हुनुभएकाे हाे ।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा (एमाले)का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिनुभयो ।
यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनारले ९९, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले पाँच, मङ्गोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापाले एक सय ६६ र राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर रानाले ८७ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचनमा ६५ हजार तीन सय १६ मत खसेकामा ६४ हजार एक सय ३५ मत सदर भएको थियो भने एक हजार एक सय ८१ मत बदर भएको थियो ।