चितवन पुगेर रविलाई प्रचण्डको चुनौति– ‘म जुनसुकै भ्रष्टाचारका फाइल खोल्न तयार छु’
काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उपनिर्वाचनमा जित हाँसिल गरेको जिल्ला चितवनबाटै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउनु भएको छ । उहाँले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको भन्दै लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान समेत गर्नुभएको छ ।
चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘सरकारमा आउनुस् भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्यो म खोल्न तयार छु ।’ रास्वपाका सभापति लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएको प्रचार गर्दै आफूहरु र भ्रष्टाचारविरोधी आन्दोलनमा लागेको भन्दै चुनावी अभियानमा सक्रिय बन्नुभएको थियो । उपनिर्वाचनबाट सोचे भन्दा राम्रो सफलता प्राप्त गरेपछि हौसिएको रास्वपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने बताएको थियो
। प्रचण्डले रास्वपा सरकारमा आए भ्रष्टाचारबाहेकका अन्य विषयहरु पनि नीति तथा कार्यक्रममा सामेल गराउन सकिने समेत बताउनुभयो । प्रचण्डले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिनेसमेत दाबी गर्नुभयो । सरकारमा आउने विषयमा लामिछाने सकारात्मक रहेको भन्दै प्रचण्डले सरकारकामा सहभागी हुनेबारे दुबैले आफ्नो पार्टीमा सल्लाह गर्ने सहमति भएको पनि जानकारी दिनुभयो । छलफलमा रवि लामिछानेले पुरानै मन्त्रालयको दाबी नगरेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।