टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप र बादलका छोराविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं, २० वैशाख । भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छाेरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

साथै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापालाई पनि पक्राउ अनुमति लिएर खोजी गरिरहेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने ठगी घटनामा मुछिएपछि बुधबार काठमाडौं प्रहरी परिसरले रायमाझी उनका छोरा सन्दीप र तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतिक थापा विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गर्ने अनुमति पाएको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा रायमाझी उनका छोरा सन्दीप र प्रतिक थापा को पनि संलग्ना देखिएको प्रहरीले जनाएको छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार रहेका डा. इन्द्रजित राई मंगलबार पक्राउ परिसकेका छन् ।