काठमाडौं महानगरपालिकाकी उपप्रमुख डंगोल पर्यटन शिखर सम्मेलनमा भाग लिन चीन प्रस्थान
काठमाडौं २५, वैशाख। काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पर्यटन शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गर्नुभएको छ । यहि वैशाख २६ देखि २९ गतेसम्म चीनको छाङ्सा शहरमा आयोजना हुने उक्त सम्मेलनमा विश्व पर्यटन सहर महासंघ (डव्ल्युटीसीएफ)को निमन्त्रणामा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उपप्रमुख भएपछि उहाँको यो पहिलो विदेश भ्रमण हो ।
सम्मेलनमा उहाँले काठमाडौंँ महानगरपालिकाको तर्फबाट महानगर क्षेत्र भित्रका कला, संस्कृति, सम्पदा तथा पर्यटन प्रवद्र्धनमा काठमाडौँ महानगरपालिकाले गरेका असल अभ्यासका बारेमा प्रस्तुतिकरण गर्ने कार्यक्रम छ । महानगरपालिका डव्ल्युटीसीएफको सदस्य हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट भ्रमण स्वीकृत गरेपछि उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
उहाँसँग कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जन, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको सचिवालय प्रमुख नूरनीधि न्यौपाने, अन्तराष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख सुर्दशन भट्टराई पनि चीन जानु भएको छ । उहाँ शुक्रबार नेपाल फर्किने कार्यक्रम छ ।