त्रिविमा शैक्षिक गुणस्तर सुधार गर्न सबै तहमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

काठमाडौँ, २७ कात्तिक । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित र उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन सबै तहमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी गरेको छ ।

यस विषयमा शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबीच शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा छलफल भएको छ । छलफलमा विश्वविद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, पठनपाठनलाई प्रभावकारी बनाउने, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने र संस्थागत पहिचान स्थापित गर्ने विषयमा जोड दिइएको थियो ।

छलफलका क्रममा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र आवश्यक नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी गराइएको थियो ।

त्यस्तै, विद्यार्थीको शैक्षिक क्षमताका आधारमा कोटा निर्धारण गर्ने, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन तथा सम्बन्धन वितरणलाई व्यवस्थित र मापदण्डमा आधारित बनाउने तथा उच्च शिक्षामा लगानी बढाउने विषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा त्रिविका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र (सेन्टर फर एक्सिलेन्स) का रूपमा विकास गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नेपालको उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले विद्युतीय हाजिरी (ई–एटेन्डेन्स) प्रणालीले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताउनुभयो । उहाँले विश्वविद्यालयबाट सम्बन्धन प्रदान गर्दा क्याम्पसको सङ्ख्या बढाउनुभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

त्रिविबाट सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था अनिवार्य हुनुपर्ने उहाँको भनाइ थियो । क्याम्पसको दिगोपन र शैक्षिक गुणस्तर कायम राख्न विशेष ध्यान दिनुपर्ने बताउँदै झाले विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजानुपर्ने, कलेजलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्नुपर्ने र शैक्षिक सत्र व्यवस्थित बनाउनुपर्ने धारणा राख्नुभयो ।

छलफलमा त्रिविको जग्गा फिर्ता ल्याउने विषयले पनि प्राथमिकता पाएको थियो । मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले विश्वविद्यालयको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताउनुभयो । यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उहाँले जानकारी दिनुभयो ।

विश्वविद्यालयका शैक्षिक कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालय आवश्यक समन्वय र सहजीकरण गर्न तयार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

छलफलमा त्रिविका उपकुलपति प्रा. डा. भोला थापा, शिक्षाध्यक्ष प्रा. डा. अञ्जना सिंह, रजिस्ट्रार सहप्राध्यापक डा. रविन्द्र शिवाकोटी, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विश्वविद्यालयका विभिन्न सङ्कायका डीनहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *