जलवायुजन्य विपद्का मुद्दा उठाउने मञ्च बन्यो नेपाल पेभेलियन
टर्की, २७ कात्तिक । टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले स्थापना गरेको ‘नेपाल पेभेलियन’ जलवायुजन्य विपद्, जलवायु अन्याय र अनुकूलनका प्रयास अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने प्रभावकारी मञ्च बनेको छ ।
नेपालले भोटेकोसीलगायतका क्षेत्रमा पछिल्लो समय भोगेका जलवायुजन्य विपद्, त्यसबाट प्रभावित समुदायका समस्या र अनुकूलनका सफल अभ्यास विश्व समुदायसमक्ष पुर्याउन छुट्टै पेभेलियन स्थापना गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका अनुसन्धान अधिकृत तथा पेभेलियनका फोकल पर्सन प्रकाश लामिछानेका अनुसार सुरुमा पेभेलियनका लागि आवश्यक स्थान भाडामा लिन करिब डेढ करोड रुपैयाँ खर्च लाग्ने अनुमान थियो । तर, नेपालको अनुरोधमा टर्की सरकारले उक्त स्थान निःशुल्क उपलब्ध गराएको हो ।
४८ वर्गमिटर क्षेत्रफलमा फैलिएको पेभेलियनमा सम्मेलन अवधिभर ४७ देखि ४८ वटा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । दैनिक चारदेखि छवटासम्म कार्यक्रममार्फत जलवायु सङ्कट, विपद् जोखिम, अनुकूलन, जलवायु वित्त, हिमाली क्षेत्रका समस्या र जलवायु न्यायबारे छलफल भइरहेको छ ।
पेभेलियनको सजावट तथा पूर्वाधार व्यवस्थापनमा पनि चुनौती देखिएको थियो । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि र आयोजक समितिमार्फत सजावट गर्दा करिब एक लाख अमेरिकी डलर खर्च हुने अनुमान भएपछि स्थानीय बजारबाट आवश्यक सामग्री खरिद गरी कम खर्चमा व्यवस्थापन गरिएको लामिछानेले बताउनुभयो ।
नोभेम्बर ९ मा औपचारिक उद्घाटन गरिएको नेपाल पेभेलियनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, नीति निर्माता र सरोकारवालाबीच जलवायु परिवर्तनका चुनौती र समाधानका उपायबारे छलफल भइरहेको छ ।
नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, प्रभावित समुदायका आवाज र अनुकूलनका प्रयासलाई विश्वव्यापी बहससँग जोड्न पेभेलियनले महत्त्वपूर्ण अवसर प्रदान गरेको मन्त्रालयले जनाएको छ ।
