सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक
काठमाडौँ, २७ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो ।
सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । ओपनर स्कट कुगलेइन ६ रनमा आउट हुँदा विनोद भण्डारीले एक रन मात्रै बनाउन सके । त्यसपछि आएका ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डे खाता नै नखोली पभेलियन फर्किए । दुवैलाई काठमान्डुका बलर सन्तोष यादवले आउट गरेका थिए ।
सुरुआती ब्याटर सस्तैमा आउट भएपछि दबाबमा परेको सुदूरपश्चिमको इनिङ्स कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सम्हाल्ने प्रयास गरे । आरिफले २५ बलमा १६ रन बनाएर रनआउट भए ।
कप्तान ऐरीले भने उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरे । उनले ६० रनको योगदान दिए । त्यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ रन बनाएपछि सुदूरपश्चिमले सम्मानजनक योगफल तयार पारेको हो ।
बलिङतर्फ काठमान्डुका जहानदाद खानले सर्वाधिक तीन विकेट लिए भने सन्तोष यादवले दुई विकेट हात पारे ।
अब काठमान्डुले जितका लागि २० ओभरमा १२६ रन बनाउनुपर्नेछ ।
