शरणार्थी प्रकरणकाे समाचार तथ्यमा आधारित रहेर सम्प्रेषण गर्न प्रहरीको अनुरोध
काठमाडाैं, २७ वैशाख । प्रहरी प्रधान कार्यालयले भूटानी शरणार्थी प्रकरणका विषयमा समाचार सम्प्रेषण गर्दा तथ्य र प्रमाणका आधारमा गर्न सञ्चारमाध्यामसँग अनुरोध गरेको छ ।
कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै यस्ता तथ्यहीन तथा भ्रामक समाचारबाट जनमानसमा गलत सूचना प्रवाह हुन जाने र मुद्दाको अनुसन्धानमा समेत नकारात्मक प्रभाव पार्नसक्ने भएकाले तथ्यमा आधारित रहेर सूचना सम्प्रेषण गर्न, गराउन अनुरोध गरेको हो ।
प्रहरीका अनुसार कतिपय अनलाइन, छापा मिडिया तथा विभिन्न सामाजिक सञ्जालमा प्रहरीबाट अनुसन्धानका क्रममा रहेको भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपालीहरुलाई ठगी गरी सङ्गठित अपराध गरेको घटनाको विषयमा गलत, मनोगत र अनुमानमा आधारित भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै नेपाल प्रहरीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीद्वारा जारी विप्तिमा भनिएको छ, ‘तथ्यमा आधारित र वस्तुगत प्रमाणमा आधारित रहेर अनुसन्धानलाई सारभूतरुपमा निष्कर्षमा पुर्याउन नेपाल प्रहरी प्रतिबद्ध छ ।’
सही, सत्य र तथ्यमा आधारित सूचना र समाचार सम्प्रेषण गरी नेपाल प्रहरीलाई अनुसन्धान कार्यमा सहयोग गर्न पनि अनुरोध गरिएको छ ।