नकली भुटानी शरणार्थी काण्डबारे केपी ओलीका ११ बुँदे दृष्टिकोण

काठमाडौं, २८ वैशाख । नेकपा (एमाले) को केन्द्रीय कमिटीको पाँचौँ बैठक आजबाट एमाले मुख्यालय च्यासलमा सुरु भएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्वोधन गर्नुभएको छ । उहाँले नकली भुटानी शरणार्थी काण्डका बारेमा मात्रै केन्द्रित भएर आजको बैठक उद्घाटनमा सम्वोधन गर्नुभयो । उहाँले गरेको सम्वोधनका महत्वपूर्ण बुँदालाई उहाँकै शब्दमा हामीले यहाँ प्रस्तुत गरेका छौँ । उहाँले मुख्य गरेर १० ओटा बुँदामा नकली भुटानी शरणार्थी काण्डबारे धारणा राख्नु भएको छ ।

भुटानी शरणार्थीहरु तेस्रो मुलुक बसोबासका लागि सकारात्मक थिए

अमेरिकाको कुनै पनि कुनाबाट २४ घण्टा भित्र भुटान आइपुग्न सकिनछ । तर, शरणर्थी शिविरबाट १६ वर्षमा त उनीहरु थिम्पु पुग्न सकेनन् । अथवा झापाका शिविरबाट थिम्पु पुग्न १६ मा पनि सकिने रहेनछ् । भुटानी शरणार्थीहरुले पनि केही कुरा उठाएका थिए । मैले उहाँहरुलाई पनि भने–मैले उहाँहरुलाई राजनीति मात्रै गरेर हुँदैन । यसरी जानुहोस् भनेर भनेको थिएँ । उहाँहरु पनि तेस्रो मुलुकमा बसोबासको व्यवस्थाका लागि सकारात्मक हुनुहुन्थ्यो ।

सरकारी कर्मचारी नकिनिइकन नकली र सकली प्रतिवेदन बन्दैन

बाँकी रहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा बसोबासको व्यवस्था मिलाउनेलगायतका पहल मेरो सरकारका पालामा सकारात्मक रुपमा अघि बढ्दै थियो । त्यतिबेला मन्त्रीस्तरबाट समिति बनेछ । त्यो प्रधानमन्त्रीलाई जानकारी हुने कुरा पनि भएन । मैले पछि आएर मात्रै थाहा पाएँ । त्यो समितिले बनाएको असली प्रतिवेदन र नकली प्रतिवेदनबारे छानविन भैरहेको छ । त्यो समितिको नकली प्रतिवेदन एउटा नकली प्रतिवेदन अर्को छ । एउटा पास गराउने प्रतिवेदन छ । अर्को नकली कागजातहरु राखेर नकली प्रतिवेदन बनाइएको छ । प्रतिवेदन फेरिएको कभर लेटर मात्रै उही छ । यो विषयमा अहिले प्रहरीले छानविन गरिरहेको छ । त्यो केही दिनमै अदालतमा जाँदैछ । त्यो अदालतले भन्ला ।

जहाँसम्म नकली भुटानी शरणार्थीको सन्र्दभ छ । केहीले नकली धन्दा चलाए । त्यसमा केही–केही सरकारी कर्मचारीहरु फस्दै गए । सरकारी कर्मचारी नकिनिएमा, नविकिएमा, सरकारी कर्मचारीको संलग्नता नभइ त्यो काम अघि बढ्न सक्दैन । त्यसमा केही सरकारी कर्मचारी र केही राजनीतिक नियुक्तिका व्यक्तिहरु पनि संलग्न भएको छानविनले पनि देखाएको छ ।

दोषी उम्किनु हुँदैन, निर्दोषलाई फसाउनु हुँदैन भनेर शान्तभावमा भनेको हो

टोपबहादुर रायमाझी र उनका छोरा पक्राउ भनेर बहुत ठूलो नगरा पिटियो । केही मान्छे चम्किचम्कि विज्ञप्ति निकाल्न थाले । मैले त्यसैबेला शान्तभावमा भने–कोही पनि दोषी उम्किनु हुँदैन, कोही पनि निर्दोषलाई फसाउने काम गर्नुहुँदैन । दोषीलाई रोक्न खोजियो भने त्यसको विरोधमा पनि दृढताका साथ उभिन्छौँ । आन्दोलनमा उत्रिन्छौँ, हामी । दोषी उम्किनु हुँदैन । निर्दोषलाई फसाउन खोजियो भने त्यसमा पनि हाम्रो समर्थन हुँदैन । निर्दोषीलाई दोषी बनाउन खोज्नु पनि अपराध हो, हामी त्यो हुँन दिदैनौँ । तर, विभिन्न मान्छेले उताउलिएर फलानालाई जेल हाल, फलानालाई जेल हाल, फलनालाई तान, यो उम्किन नपाओस् भन्ने खालका प्रयास सरकारीस्तरबाट भएका हुन् । मैले प्रधानमन्त्रीजीलाई भेटेर पनि भने– यस्ता खालका कुरा सुन्दैछु । यस्ता कुरा नहुन् । दोषी नउम्किउन, निर्दोष नफसोस् । यसमा प्रधानमन्त्री, मन्त्रीको काम छैन, पुलिसलाई निष्पक्ष ढंगले काम गर्न दिनुहोस् ।

म यो कुनै हालतमा छाड्दिन भनेर केही ‘हिरो’ बन्न खोजेका छन्

अहिले केही मान्छे ‘म यो कुनै हालतमा छाड्दिन भनेर हिरो बन्न खोजेका छन् । उनको हातमा भएको भए हिजो दोषीहरुलाई छाड्ने काम हुन्थ्यो ? उनको हातमा भएको भए मान्छेहरु गिरफ्तार हुन्थे ? हुँदैनथे । तर, उनको हात भन्दा बाहिर गएपछि यो बाहिर आएको हो । १ हजार ७४ जनाको रिक्त भएको ठाउँमा ९ सय ७५ जनासँग १० देखि ५०, ६० लाखसम्म पैसा उठाएर उनीहरुबाट फारम भरेर शरणार्थी कार्ड बनाउने काम अघि बढेको छ । पैसा क–कस्ले उठायो ? कहाँ–कहाँ बुझायो ? फलानाले फलानालाई पनि बुझाउनु पर्छ भनेको थियो । भन्ने बोल्न लगाएर विभिन्नतिर पनि चर्चा चलाउने प्रयास भएका छन् भन्ने पनि मैले सुनेको छु ।

गएको जेठ ३० गते हामीलाई नकली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भनेर हामीलाई ठगियो भनेर धेरै उजुरी परे । निवेदन पर्यो गृहमन्त्रालयमा, निवेदन पर्यो प्रहरीमा । प्रहरीमा निवेदन परेपछि मान्छेहरु पक्राउ परे । जो मान्छे हुन् ती मान्छे पक्राउ परे । तर, त्यसबेला अनुसन्धान महाशाखाको प्रमुख को–थियो ? कस्ले छाड्यो ? त्यसबेला प्रहरी प्रमुख को–थियो ? कस्ले छाड्यो ? कस्को आदेशमा आइजीपीले छाड्यो ?

गृहमन्त्रीको बयान कठै !

गृहमन्त्रीको बयान कठै ! गृहमन्त्रीले बदलेर एउटा बयान दिए, छाडियो । आगोमो मुस्लो जस्तो भएर फेरि अर्को यस्तो प्रमाण निस्कियो कि गृहमन्त्रीले बदलेका बयान सबै खेर गए । म फेरि पनि भन्छु– यस्ता कुरा फेरि पनि प्रकट हुनेछन् । जेठ ३० गते पक्राउ परेका व्यक्तिहरु किन छाडिए ? जेठ ३० मा पक्राउ परेका व्यक्तिहरु कस्को आदेशमा छाडिए ?

अहिले त हामीले बोल्नु पर्दैन, क्यासेट बोल्छ

अहिले त हामीले हामीले बोल्नु पर्दैन, क्यासेट बोल्छ, क्यासेट बोल्छ । अरु धेरै क्यासेटहरु आउनेवाला छन् । त्यसकारण सत्य बोल्छ, क्यासेटहरु बोल्छन् । त्यसैले हामी ढुक्कले भन्न सक्छौँ । गएको जेठ ३० मा उनीहरुलाई किन छाडियो ? किन त्यो मुद्धा दबाउन खोजियो ? दबाउन कस्ले खोज्यो ? त्यो सबै पत्ता लाग्नेछ । के त्यतिबेला केपी ओली प्रधानमन्त्री थियो ? एमाले सरकारमा थियो ? एमालेको गृहमन्त्री थियो ? यसको सबै छानविन हुनुपर्दैन ?

नेपालीलाई राज्य विहीन बनाई विदेश पठाउन पैसा तिराउने देशद्रोही काम हो

नेपालीलाई राज्य विहीन बनाएर शरणार्थी बनाएर विदेश पठाउन पैसा तिराउने यस्तो जघन्य अपराध गर्ने काम देशद्रोही काम हो । यस्तो देशद्रोही काम गर्नेहरुलाई कारबाही हुनुपर्छ । यस्तो काममा सरकार लागेको देखियो, किन ?

पक्राउ परेको व्यक्तिले बोक्सीले जस्तो बक्न थालेपछि चुपचुप, चुप लाग भनेर सबै अनुसन्धान थन्क्याएर मिलापत्र गराउने काम गरेर सरकारले गलत गरेको छ । अनि अहिले आएर विभिन्न प्रकारका फाँइफुँइ गरेर हुन्छ । धेरै फाइँफुँई नगरे हुन्छ । हामीले चिनेका मान्छे छन् । सबैका पृष्ठभूमि हामीलाई थाहा छ । हाम्रो चिन्ता के हो भने यस्ता कुरालाई लोकतन्त्रका विरुद्ध प्रयोग गर्न खोजिएको छ । लोकतन्त्रले गरेको होइन ।

लोकतन्त्रको आवरणमा केही तत्वहरुले लोकतन्त्रलाई बदनाम गर्न खोजे

लोकतन्त्रको आवरणमा केही तत्वहरुले लोकतन्त्रलाई बदनाम गर्ने र विस्थापन गर्ने काम गरेका छन् । सबै उस्तै हुन भन्ने प्रयास भएको छ । दोषीलाई कारबाही गरेर प्रणालीको रक्षा गर्नुपर्छ । प्रणालीमाथि आघात पुर्याउने होइन ।

केहीले यहि दिन देख्न गणतन्त्र रहेछ भन्ने गरेका छन् । हामीले राजतन्त्र पनि देखेका छौँ । नमिता–सुनिता काण्ड पनि हामीले देखेको छौँ । दरबार हत्याकाण्ड देखेनौँ कि ? हामीले के देख्न बाँकी छ ? २ सय ५० वर्षसम्म देशलाई चुसेर कंगाल बनाएर आफूहरु मात्रै सम्पन्न गराउने राणा र शाही शासन दुबै सामन्ती र शोषक शासन हुन् । उनीहरुबिच हालीमुहालीका लागि लडाईँ भयो । राणा र राजतन्त्रबिचको लडाईँ हालीमुहालीको लडाईँ हो । राणा पनि तन्त्र नै हो, राज पनि तन्त्र नै हो । उनीहरु दुबैको जहाँनीया, निरंकुश तन्त्र हो ।

आङदावा शेर्पासँग अभियुक्तको एकान्त वार्तापछि बयान फेरियो

९ सय बढीबाट पैसा लिएको छ भने एउटा बाढी टालेर त भएन नि ? यताबाट बाढी आउँछ, उताबाट बाढी आउँछ । थाम्नै नसक्ने अवस्थामा पुगेपछि पुलिसले उनीहरुलाई गिरफ्तार गरेको हो ।

कारबाही अघि बढाएपछि रामेछापका कांग्रेसका २०७० सालका संविधानसभा सदस्य आङदावा शेर्पा अभियुक्तहरु थुनिएको ठाउँमा जानुभयो । अभियुक्तहरु जोसँग यथेष्ट प्रमाणहरु थिए । उनीहरुले हामीले यस्तो गरेको थियौँ भनेर कबुल गरेका थिए । उनीहरुलाई कसैले दलाली गर्न र मिलाउने जिम्मा दिएर पठाएका उनै व्यक्तिलाई प्रहरीले स्वागत गर्यो । अनि दोषीहरुलाई आङदावासँगै बसेर घण्टौंसम्म एकातन्तमा लगेर गफ गर्ने वातावरण बनाइयो । त्यसपछि मुद्धा कमजोर पारियो र कस्लाई फसाउने, कस्लाई नफसाउने भन्ने खेल सुरु भयो ।

करीब २० दिन भएको बयान रोकेर फेरि बयान गराउने काम भयो र मुद्धालाई अर्कोतिर मोड्ने काम भयो । तर, एक पाइला चाल्यो अथवा जहाँ खुट्टा टेक्यो त्यहाँ भ्वाँङ हुन्छ । भ्वाँङमा खुट्टा पसिहाल्छ । त्यहाँबाट निस्किएर अर्को ठाउँमा पाइला टेक्न खोज्यो । फेरि भ्वाँङपर्छ त्यहाँ खुट्टा पर्छ । त्यसो भएपछि यो मुद्धा रोक्न सकिएन । रोक्न नसकिने भएपछि उजागर भएको हो । अब केही दिन बाँकी छ । अनुचित खालका हर्कत बन्द हुन् । सहीसही छानविन होस् । सही छानविन गरेर राजनीतिक फण्डा बनाउन खोज्ने क्रियाकलाप नहोस् ।

भ्रष्टाचार विरुद्धका नायक भनेर फाँइफुँइको अर्थ छैन

अहिले केही कार्यकर्ता परिचालन गरेर ‘भ्रष्टाचार विरुद्धका नायक, भ्रष्टाचार विरुद्धको नयाँ युग’ भनेर फाँइफुँई गर्ने प्रयास भैरहेको छ । यो बारेमा धेरै कुरा नभनौँ । गफ दिनु भन्दा अघि कि सम्झिनुहोस्, कि ऐन हेर्नुहोस् ।

कानुनलाई सघाएर प्रहरीमा हाजिर हुनुहोला

सचिवालय बैठकले टोपबहादुर रायमाझीलाई कानुनलाई सघाएर प्रहरीमा हाजिर हुन आग्रह गरेको छ । मैले उहाँ निकटका मान्छेलाई पनि पार्टीको नीति कानुनलाई सघाउने छ भनेर सुनाई दिनु भनेको छु म अहिले पनि भन्न चाहन्छु । कसैमाथि आरोप लग्दैमा दोषी हुँदेन । तर, आरोपबाट भाग्यो भने आशंका हुन्छ । दोषी भए कारबाही भोग्नुपर्छ । नभए दोषमुक्त भइन्छ । पैसा समाउनेलाई छाड्ने र रायमाझीलाई समाउने किन ? भनेर मैले प्रश्न गरेको हो । रायमाझी स्वयमलाई पनि त्यसैबेला कानुनलाई सहयोग गर्नुहोस् भनेको थिएँ । तर, उहाँले प्रहरीले अभद्र व्यवहार गर्ने भनेपछि एकैचोटी अदालतमा हाजिर हुने भन्नुभयो । मैले जानकारी पाएसम्म उहाँ हिजै हाजिर हुनुपर्ने हो ।