बेलायतमा बढिरहेको राजा विरोधी आन्दोलन

गत मई ६ तारिखको घटना हो । बेलायतका नयाँ राजा चाल्र्स तृतियको राज्याभिषेक हुँदै थियो । लण्डनमा ठूलो खुशियाली मनाइँदै थियो । त्यही बेला राज्याभिषेकको यात्रा चलाइने मार्गमा पर्ने ट्राफल्गर स्क्वाएरमा पहेँलो लुगा लगाएका एक हुल मानिसहरू पहेँलै झण्डा बोकेर राजतन्त्र विरुद्ध प्रदर्शन गरिरहेका थिए ।

बेलायतमा राजतन्त्र मासेर गणतान्त्रिक व्यवस्था लागू गर्नुपर्छ भन्ने समूहले गरेको प्रदर्शन थियो त्यो । उनीहरूले सडकमा ‘राजा मेरो होइन’ भन्ने नारा लगाउने र ब्यानर प्रदर्शन गर्ने कार्य पनि गरेका थिए ।

बेलायतमा राजतन्त्र मासेर निर्वाचित राष्ट्र प्रमुख रहने व्यवस्था गर्नुपर्ने माग राखी लामो समयदेखि आन्दोलनरत रिपब्लिकन समूहले राजा चाल्र्सको राज्याभिषेकलाई पनि आफ्नो माग प्रदर्शन गर्ने अवसरका रुपमा उपयोग गरेका थिए ।

उनीहरूले राजा चाल्र्सको यो राज्याभिषेक नै बेलायतको अन्तिम राज्याभिषेक होस् भन्ने कामना पनि व्यक्त गरेका थिए । गणतन्त्रवादीहरूले अस्ति जुन चोकमा बसेर प्रदर्शन गरेको थियो त्यही चोकमा सत्रौं शताब्दीका बेलायती राजा चाल्र्स प्रथमको सालिक राखिएको छ । राजा चाल्र्स प्रथमलाई सन् १६४९ मा बेलायती संसदले मृत्युदण्ड दिई मुलुकमा राजतन्त्रको अन्त्य गरेका थिए । तर पछि फेरि राजतन्त्र स्थापना गरी राजालाई संसदको कडा नियन्त्रणमा राखेका थिए ।

बेलायतको राजतन्त्र एक हजार वर्ष पुरानो मानिन्छ ।

गणतन्त्रवादी अभियानका अगुवा ग्राहम स्मिथका अनुसार राजतन्त्र अन्त्यको माग राखी उक्त दिन १५०० जना गणतन्त्रवादीहरूले प्रदर्शन गरेका थिए । आफूहरुलाई सबैले देख्न सकोस् भनेर उनीहरूले तेजिलो पहेँलो रंगको पोशाक लगाएका थिए ।

नेशनल सेन्टर फर सोसल रिसर्चले हालै गरेको एउटा अनुसन्धानले बेलायतमा ‘राजतन्त्र अत्यन्त आवश्यक छ’ भन्नेहरूको संख्या २९ प्रतिशतमा झरेको देखाएको छ ।

यही बेला बेलायतमा राजतन्त्रको लोकप्रियता पनि निरन्तर ओरालो लागिरहेको छ । नेशनल सेन्टर फर सोसल रिसर्चले हालै गरेको एउटा अनुसन्धानले बेलायतमा ‘राजतन्त्र अत्यन्त आवश्यक छ’ भन्नेहरूको संख्या २९ प्रतिशतमा झरेको देखाएको छ । बेलायती राजतन्त्रको लोकप्रियता गत ४० वर्षपछि यति तल झरेको यो पहिलो पटक हो ।

ग्राहम स्मिथका अनुसार बेलायतमा चाल्र्स राजा भएपछि राजतन्त्रको गरिमा कम हुन थालेको हो । पहिले महारानी एलिजावेथ दुतिया हुँदा उनको आलोचना कमै मात्र हुने गर्दथ्यो । अहिले चाल्र्स आएपछि स्थिति बदलिएको छ ।

अहिले केही नागरिकले चाल्र्सको राज्याभिषेकमा राज्यले गरेको खर्चको हिसाब किताब पनि माग्न थालेका छन् । यो राज्याभिषेकका लागि विश्वभरिका २,००० पाहुना बोलाइएको थियो । सन् १९५३ मा महारानी एलिजावेथको राज्याभिषेक हुँदा ८,००० पाहुना निमन्त्रित थिए । त्यसमा राज्यले ९,१२,००० पाउण्ड खर्च गरेको थियो । अहिलेको हिसाबले यो २ करोड ६० लाख डलर हुन आउँछ ।

अहिले राजतन्त्र विरोधी आन्दोलन चलाइरहेका गणतन्त्रवादीहरूले राजतन्त्र मात्रै हटाउन खोजेका हुन् । बेलायतको शासन प्रणाली, संघीय नीति जस्ता कुनै पनि व्यवस्थामा उनीहरूले परिवर्तन चाहेका छैनन् ।

गएको राज्याभिषेकमा इसाई मात्र नभई बौद्ध, हिन्दू, मुस्लिम, जैन र शिख धर्मगुरुहरूलाई पनि भूमिका दिइएको थियो । साथै महिला पादरी पनि राखिएको थियो ।

बेलायतमा यदि राजतन्त्र टिकाउने हो भने वर्तमान राजसंस्थाले आफूलाई केही परिवर्तन गर्नुपर्ने सुझाव दिएका छन् । त्यसलाई मनन गरी गएको राज्याभिषेकमा इसाई मात्र नभई बौद्ध, हिन्दू, मुस्लिम, जैन र शिख धर्मगुरुहरूलाई पनि भूमिका दिइएको थियो । साथै महिला पादरी पनि राखिएको थियो ।

राज्याभिषेक समारोहलाई बीबीसी टेलिभिजनले दिनभरि प्रत्यक्ष प्रशारण गरेको थियो भने ठीक त्यही बेला च्यानल–फोर नामक टेलिभिजनले भने ‘फेरवेल टु द मोनार्की (राजतन्त्रलाई विदाई)’ नामक डकुमेन्ट्री प्रशारण गरेको थियो । साथै राजा चाल्र्स र उनका भाइ राजकुमार एण्ड्रिउ बीचको विवाद सम्बन्धी रिपोर्ट पनि प्रशारण गरिरहेको थियो ।

गणतन्त्रवादीहरू बेलायतको राजसंस्थालाई भ्रष्ट र सामन्तवादी संस्थाको रुपमा चित्रण गर्छन् । गणतन्त्रवादीहरू बेलायती राजतन्त्रलाई अहिले नै कुनै ठूलो खतरा नभए पनि भविष्यमा यसको अस्तित्व संकटमा पर्दै जाने भने निश्चित रहेको दावी गर्दछन् ।

(स्रोतः विभिन्न एजेन्सीहरू)