वैदेशिक रोजगारीका पीडित तनहुँका ५१ जनाले पाए क्षतिपूर्ति रकम

तनहुँ, १ जेठ । वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् ।

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा जालसाजीमा परेका उनीहरुले सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा चालु आर्थिक वर्षमा रु दुई करोड ७१ लाख ९५ हजार पाँच सय ९१ रकम क्षतिपूर्तिबापत प्राप्त गरेका हुन् ।

वैदेशिक रोजगारका क्रममा मृत्यु भएका, बेपत्ता भएका, ठगीएका र उद्धार गरिएका पीडितलाई सामी कार्यक्रमको समन्वयमा क्षतिपूर्तिबापतको रकम प्रदान गरिएको कार्यक्रमकी जिल्ला संयोजक लुना रानाले जानकारी दिनुभयो ।

व्यास नगरपालिकाका २३ जनालाई रु ३० लाख ७० हजार, भानु नगरपालिकाका पाँच जनालाई रु २१ लाख २५ हजार, शुक्लागण्डकी नगरपालिकाका चार जनालाई रु ५२ लाख २० हजार, म्याग्दे गाउँपालिकाका पाँच जनालाई रु ४७ लाख ७५ हजार, भिमाद नगरपालिकाका चार जनालाई रु ९१ लाख ६० हजार पाँच सय ९१, बन्दीपुर गाउँपालिकाका तीन जनालाई रु २२ लाख ५० हजार क्षतिपूर्ति रकम प्रदान गरिएको हाे ।

देवघाट गाउँपालिकाका चार जनालाई रु तीन लाख ८० हजार, आँबुखैरेनी गाउँपालिकाका दुई जनालाई रु एक लाख ४० हजार, घिरिङ गाउँपालिकाका एक जनालाई रु एक लाख २५ हजार क्षतिपूर्ति प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १९ उजुरी दर्ता भएको थियो । त्यसमध्ये ५१ जनाको उजुरी समाधान भएको रानाले जानकारी दिनुभयो ।

सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले बताउनुभयो ।

वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन विसं २०७६ मङ्सिर १ गतेदेखि जिल्लाका चार र गत वर्षदेखि थप तीन स्थानीय तहमा सामी कार्यक्रम सञ्चालित छ ।

सामी कार्यक्रममार्फत विदेश जाने र विदेशबाट फर्किएका युवायुवतीलाई परामर्श सेवा प्रदान गर्ने गरिएको छ । त्यस्तै विदेशबाट फर्किएकालाई सीपमूलक तालिम दिनुका साथै स्थानीयलाई वित्तीय साक्षरता कक्षा समेत प्रदान गरिएको छ ।

नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहजीकरण र हेल्भेटास नेपालको प्राविधिक सहयोगमा सामी कार्यक्रम सञ्चालन भइरहेको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेश मिश्रले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *