लिलाम नहुँदा सत्ती भन्सार कार्यालयमा थन्क्याइएका सयौँ मोटरसाइकल कवाड बने

कैलाली, ३ जेठ । कैलालीको टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयको पछाडि थन्क्याइएका सयौँ मोटरसाइकल कवाड बनेका छन् ।

भन्सार कार्यालय पुग्दा सकुशल पुगेका मोटरसाइकल समयमा लिलाम हुन नसक्दा कहिले घाम त कहिले पानीले कवाड बनेका हुन् ।

भन्सार कार्यालयले एक वर्षदेखि भन्सारमा आएका अवैध सवारी साधनको लिलाम प्रक्रिया नै अगाडि बढाउन सकेको छैन । भन्सारमा सयौंँ मोटरसाइकल मात्रै नभइ दर्जनौँ अटो रिक्सा पनि छन् ।

कैयौँ मोटरसाइकलका पार्टपुर्जा नै छैनन् । लिलाम प्रक्रिया झन्झटिलो भएका कारण भन्सार कार्यालयले त्यसमा चासो दिन सकेको छैन । लिलाम गर्नु पहिले इञ्जीनीयरले सबै प्रक्रिया पूरा गर्नुपर्ने हुँदा सबैभन्दा झन्झट इञ्जीनीयरलाई बोलाउनु रहेको भन्सार कार्यालयका निमित्त प्रमुख तुलसीराम थारु बताउनुहुन्छ ।

गत आर्थिक वर्षमा भन्सारले ८६ मोटरसाइकल र एउटा स्कारपियो लिलाममा बिक्री गरेको थियो । कोरोना सङ्क्रमण सुरु भएपछिको त्यो लिलाम प्रक्रिया पहिलो थियो । त्यसपश्चात भन्सारले सवारी साधनको लिलामीका लागि कुनै पहल नगरेको पाइएको छ ।

भन्सार कार्यालयसँग कति सवारीसाधन त्यसरी थन्किएका छन् भन्ने एकिन तथ्याङ्क पनि छैन । “भन्सारमा यति नै सवारीसाधन छन् भन्ने तथ्याङ्क हामीसँग छैन”, निमित्त प्रमुख थारु भन्नुहुन्छ, “केही पुराना त केही नयाँ भएका कारण एकिन तथ्याङ्क भन्सारले राखेको छैन, फरक–फरक तथ्याङ्क भने हुनसक्छ ।”

राजस्व सङ्कलनमा पनि भन्सार निकै पछाडि परेको छ । चालु आव सकिन दुई महिना मात्रै बाँकी हुँदा भन्सारले लक्ष्यको ३५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । अझै लक्ष्य पूरा गर्न भन्सारले दुई महिनामा कूल राजस्वको ६५ प्रतिशत सङ्कलन गर्नुपर्ने देखिएको छ ।

भन्सार कार्यालयका प्रमुख तीर्थराज पासवानले भन्सारको समस्या राजस्व सङ्कलनमा कमी आउनु मात्रै नभएको बताउनुभयो । उहाँले भन्सार कार्यालयलाई चाहिने आवश्यक उपकरण नै नभएको जनाउँदै यस्तो अवस्थामा कार्यालय सञ्चालन गर्न निकै कठिन भएकाले थुप्रै व्यवस्थापकीय सुधार आवश्यक रहेको बताउनुभयो ।