पर्यटकको विश्रामस्थल बन्दै भुरुङ्ग-तातोपानी कुण्ड
भुरुङ्ग-तातोपानी कुण्ड
काठमाडौँ, कार्तिक ९ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ स्थित भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको छेउमा रहेको प्राकृतिक तातोपानी कुण्ड मुस्ताङ जाने आउने पर्यटक तथा पदयात्रीका लागि विश्रामस्थलका रूपमा विकसित हुँदै गएको हो ।
अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर जाने मौरिस हर्जोग पदमार्ग तथा बेनी-जोमसोम सडक हुँदै यात्रा गर्ने पर्यटक भुरुङ्ग-तातोपानीमा रोकिएर स्नान गर्ने गरेका छन् । प्राकृतिक तातोपानीमा स्नान गरेपछि यात्राको थकान कम हुने र शरीरमा स्फूर्ति आउने अनुभव पर्यटकले सुनाउने गरेका छन् ।
काठमाडौँका विमलेश शाक्यले तातोपानीमा स्नान गरेपछि यात्राको थकान कम भएको बताउनुभयो । “यात्राको थकान र मुस्ताङको चिसो तातोपानीमा नुहाएपछि मेटियो,” उहाँले भन्नुभयो, “थकित शरीरमा तातोपानीमा स्नान गरेपछि स्फूर्ति आयो ।”
कालीगण्डकी नदीको किनारमा प्राकृतिक रूपमा निस्कने करिब ५५ डिग्री सेल्सियस तापक्रमको तातोपानी सङ्कलन गरी पोखरी र धारामार्फत स्नानको व्यवस्था मिलाइएको छ । तातोपानीमा स्नान गर्दा शरीरको थकान कम हुने, दुखाइबाट राहत मिल्ने र चिसो मौसममा न्यानो महसुस हुने अनुभव पर्यटकले सुनाउने गरेका छन् । पर्यटकीय याम सुरु भएसँगै कुण्डमा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढेको छ ।
कुण्डका कर्मचारी प्रितम पुर्जाका अनुसार पछिल्ला दिनमा पर्यटकको चहलपहल बढेसँगै स्नान गर्न आउनेको सङ्ख्या पनि बढेको छ । “हिजोआज दैनिक दुईदेखि तीन सय जनाले स्नान गर्छन्,” उहाँले भन्नुभयो, “पर्यटकको आगमन दैनिक रूपमा बढिरहेको छ ।”
बेनी-जोमसोम सडकको छेउमा रहेका दुईवटा पोखरी र धारामा सङ्कलित तातोपानीबाट पर्यटकले आफूलाई अनुकूल हुने स्थानमा स्नान गर्न सक्छन् । कुण्डमा बिहान ६ बजेदेखि राति १० बजेसम्म स्नान गर्ने व्यवस्था छ । अन्नपूर्ण गाउँपालिकाले नेपाली पर्यटकका लागि प्रतिव्यक्ति रु ५० र विदेशी पर्यटकका लागि रु १५० प्रवेश शुल्क निर्धारण गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ मा कुण्ड सञ्चालनका लागि दुई महिनाको ठेक्का आह्वान गरेको छ । प्रवेश शुल्क सङ्कलन तथा होटल सञ्चालन गर्ने प्रयोजनका लागि न्यूनतम रु नौ लाख ५० हजार मूल्य निर्धारण गरी ठेक्का आह्वान गरिएको हो । प्रस्ताव पेस गर्ने अन्तिम म्याद सोमबारसम्म तोकिएको थियो ।
कुण्डमा आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले दुई महिनाका लागि मात्र ठेक्का आह्वान गरिएको अन्नपूर्ण गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद फगामीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८२/८३ मा करबाहेक रु ५० लाख एक हजारमा कुण्ड सञ्चालनको ठेक्का लागेको थियो । यसअघि आर्थिक वर्ष २०८१/८२ मा रु ५६ लाख २५ हजार ३७७ र आर्थिक वर्ष २०८०/८१ मा रु ५५ लाख ९०० मा ठेक्का लागेको थियो ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार कुण्डबाट प्राप्त आम्दानी शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा संरक्षणका काममा परिचालन हुँदै आएको छ । तातोपानीस्थित सर्वोदय माध्यमिक विद्यालय र हिमालय आधारभूत विद्यालयमा निजी स्रोतबाट कार्यरत शिक्षकको तलब व्यवस्थापनमा सहयोग गर्नुका साथै स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन र कुण्डको पूर्वाधार निर्माणमा रकम खर्च गरिँदै आएको उहाँले बताउनुभयो । कालीगण्डकी नदीको कटान नियन्त्रण तथा कुण्डको संरक्षणका कामसमेत हुँदै आएका छन् ।
भुरुङ्ग-तातोपानी कुण्डनजिकै कालीगण्डकी नदीपारि अन्नपूर्ण गाउँपालिका ५ मा पाउद्वार तातोपानी कुण्ड रहेको छ । उक्त कुण्ड सञ्चालनका लागि यस वर्ष ५० लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ । कालीगण्डकी नदीमा आएको बाढीले भुरुङ्ग र पाउद्वारका कुण्डमा असर नगरे पनि गाउँपालिका ६ स्थित रातोपानीको तातोपानी कुण्ड भने बगरमा परिणत भएको छ । गाउँपालिका १ मा रहेको सेकार्कु तातोपानी कुण्ड सञ्चालनका लागि यस वर्ष कुनै प्रस्ताव परेको छैन ।
भुरुङ्ग-तातोपानी बजारमा पर्यटकको आवास सुविधाका लागि करिब २० वटा सुविधासम्पन्न होटल सञ्चालनमा छन् । व्यवसायीका अनुसार यहाँ एकै दिनमा ५०० भन्दा बढी पर्यटकलाई आवास उपलब्ध गराउन सकिन्छ । व्यवसायी राजु हमालले पछिल्ला दिनमा होटल भरिभराउ हुन थालेको बताउनुभयो । उहाँका अनुसार यस वर्ष यहाँ बास बस्ने पर्यटकमध्ये आधाभन्दा बढी अन्नपूर्ण आधार शिविर जाने र फर्किने पदयात्री छन् ।
देशका विभिन्न स्थानबाट आउने आन्तरिक पर्यटक भुरुङ्ग–तातोपानीमा बास बसेपछि जिपमार्फत अन्नपूर्ण आधार शिविर जाने पदमार्गको हुमखोलासम्म पुग्ने र त्यहाँबाट पदयात्रा सुरु गर्ने गरेका छन् । मुस्ताङ भ्रमण, पदयात्रा तथा लामो सडक यात्रामा निस्कने पर्यटकका लागि विश्रामस्थल बनेको भुरुङ्ग-तातोपानी कुण्डले स्थानीय होटल व्यवसायलाई समेत चलायमान बनाएको छ । प्राकृतिक स्रोतको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गर्न सके यस क्षेत्रको पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।
