तनहुँमा ज्येष्ठ नागरिकलाई घर घरमै स्वास्थ्य सेवा
नवलपरासी, ४ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–८ कार्यालयले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै घरदैलोमै स्वास्थ्य परीक्षणसहितको सेवा उपलब्ध गराएकाे छ ।
उमेरले बुढ्यौली लागेपछि हिँडडुलमा समस्या हुने भए पछि गाउँघरमै स्वास्थ्य सेवा पाउँदा स्थानीय ज्येष्ठ नागरिक खुसी भएका छन् ।
गैँडाकोटका ८६ वर्षीय नारायणप्रसाद सापकोटा गाउँघरमै स्वास्थ्य सेवा पाउँदा दङ्ग हुनुहुन्छ । “उमेर ढल्किदै गएपछि हामीलाई यताउता हिँड्डुन गर्न समस्या भएको छ”, उहाँले भन्नुभयो, “यसरी वडा कार्यालयले टोलमै स्वास्थ्य सेवा दिन थालेपछि स्वास्थ्य परीक्षण गर्न र औषधि उपचारका लागि सहज भएको छ ।”
गैँडाकोट–८ कालिका टोलकी ८१ वर्षीया राममाया कँडेल यसअघि उपचारका लागि चर्को घाममा हिँडेर स्वास्थ्यचौकी तथा अस्पताल पुग्ने गर्नुहुन्थ्यो । अहिले घरआँगनमै उपचार पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । “सामान्य उपचारका लागि हिँडेरै स्वास्थ्यचौकी वा अस्पताल पुग्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “अहिले घरमै स्वास्थ्य जाँचको सुविधा पाएका छौँ ।” ।
गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति पालिका सचेत रहेको बताउनुभयो । उहाँले गैँडाकोट–८ मा सुरु भएको यो कार्यक्रम नगरका अन्य वडामा पुर्याउने गरी कार्यविधि निर्माण भइरहेको बताउनुभयो ।
ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउँदा अस्पताल पुर्याउन समस्या हुने भएकाले पालिकाले विशेषज्ञ चिकित्सकसहितको टोली घरमै पठाएर सेवा दिन थालेको उहाँको भनाइ छ ।
गैँडाकोट–८ का वडाध्यक्ष प्रेम सापकोटाले वडा कार्यालयको आर्थिक सहयोग एवं आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा वडाका हरेक टोलमा स्वास्थ्य शिविर सञ्चालन गरिने बताउनुभयो । वडाका ११ वटै टोलमा पालैपाले नियमितरुपमा स्वास्थ्य शिविर सञ्चालन गरिने वडाध्यक्ष सापकोटाको भनाइ छ ।
शिविरमा रक्तचाप, मधुमेह, रुघाखोकी, ज्वरोलगायतका बिरामीलाई औषधिसमेत वितरण गरिएको थियो ।