दशगजामा १४ वटा जङ्गली हात्तीको बथान, सीमावर्ती गाउँमा त्रास

झापा, २६ कात्तिक । झापाको मेचीनगर नगरपालिका–७ स्थित दशगजा क्षेत्रमा १४ वटा जङ्गली हात्तीको बथान दिनभर बसेपछि सीमावर्ती नेपाली बस्तीमा त्रास फैलिएको छ।

भारतबाट आएका हात्ती बुधबार बिहानैदेखि दशगजा नजिकको झाडीमा साना बच्चासहित बसेका हुन्। हात्ती रहेको क्षेत्रको नेपालतर्फ सतिघट्टा, मेचीबस्ती र गैरीगाउँजस्ता बाक्लो बस्ती छन्।

स्थानीय प्रत्यक्षदर्शी जीआर धितालका अनुसार हात्तीको बथान दिनभर त्यहीँ बसेको छ। राति गाउँमा प्रवेश गर्न सक्ने आशङ्काले स्थानीयवासी त्रसित बनेका छन्।

हात्तीलाई नेपाली बस्तीमा प्रवेश गर्न नदिन सशस्त्र प्रहरी बलका विभिन्न सीमा सुरक्षा पोस्ट (बीओपी) र डिभिजन वन कार्यालय झापाका सुरक्षाकर्मी परिचालन गरिएको छ। डिभिजन वन कार्यालयका निमित्त प्रमुख रामभगत यादवले सीमाक्षेत्रमा सुरक्षा तैनाथी बढाइएको जानकारी दिनुभयो।

हात्तीको बथान बसेको झाडी नजिकै भारतीय बस्तीका १८ परिवारले समेत ज्यान जोगाउन घर छाडेका छन्। उनीहरूमध्ये केही नेपालतर्फका घरमा आश्रय लिएर बसेका छन् भने केही घुमाउरो बाटो हुँदै भारततर्फ गएका छन्।

यसअघि मेचीनगर–४ को प्रसाद गौडाबाट नेपाल प्रवेश गर्न खोजेको हात्तीको बथानलाई रोक्न बुधबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको थियो। बाहुनडाँगी सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न नपाएपछि हात्तीको बथान करिब पाँच किलोमिटर दक्षिण सरेर मेची पुलमुनिबाट मेचीनगर–७ पुगेको हो।

भारतबाट नेपाल प्रवेश गर्ने हात्तीले स्थानीयका घर भत्काउने र पाकेको धानबाली खाने गरेकाले सम्भावित क्षति रोक्न उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो।

हात्तीको प्रवेश रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी, डिभिजन वन कार्यालयका वनरक्षक, र्यापिड रेस्पोन्स टिम, विभिन्न सङ्घसंस्था तथा स्थानीय किसान सक्रिय रहेको प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *