सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँदै
सुर्खेत, ५ जेठ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँदैछ ।
प्रदेश सरकार गठन भएको सय दिन पुगेको सन्दर्भमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले आज पूर्णता पाउन लागेको जानकारी दिनुभयो ।
“सत्ता गठबन्धनमा रहेका सबै दल सरकारमा सहभागी हुने विश्वास मलाई छ”, उहाँले भन्नुभयो, “आज साँझसम्म मन्त्रिपरिषद्ले पूर्णता पाइसक्छ ।”
सरकारले काम गरेको सय दिनकाे अवधिमा राजनीतिक एवं शासकीय दृष्टि र दिशानिर्देशको दृष्टिबाट सफल रहनुलाई सरकारले मुख्य उपलब्धि मानेको छ ।
यसैगरी प्रदेशको वस्तुस्थिति अध्ययन, विभिन्न विकास आयोजनाको अवलोकन र अनुगमन गरी समस्याको पहिचान तथा भावी कार्यदिशा निर्धारण, पूर्ववर्ती सरकारले ल्याएका नीति, कार्यक्रम र बजेटमा रहेका समस्या, वार्षिक विकास कार्यक्रम पहिचान छनोट तथा प्राथमिकीकरणमा अनुशासित र जवाफदेही प्रणाली स्थापनाको सुरुआत, स्थानीय तहसँग उच्चतम् समन्वय र सहकार्य गरी बजेट तर्जुमा प्रक्रियाको सुरुआतसमेत भएकाे उहाँले बताए ।
पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले पनि पत्रकारका जिज्ञासाको जवाफ दिनुभएको थियो ।
राजनीतिक समीकरण पुनः फेरिन पुग्दा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह गत माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।