एनएससी–काभामा उज्वेकिस्तानले हरायो श्रीलङ्कालाई

काठमाडाैं, ८ जेठ । एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई हराएकाे छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
यस जितसँगै उज्वेकिस्तानले शीर्ष तीन अङ्क जोडेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा उज्वेकिस्तानले पहिलो सेट २७–२५, दोस्रो सेट २५–२० र तेस्रो तथा अन्तिम सेट २५–१४ ले आफ्नो पक्षमा पार्यो ।
आजदेखि सुरुआत भएको उक्त प्रतियोगिता विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेकामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए मा नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान छन् भने समूह बी मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।