उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान
काठमाडाैं, १२ जेठ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गर्नुभएको छ ।
लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी उहाँले सफल आरोही बुढामगरलाई बधाई तथा शुभकामना दिनु भएको हो ।
खुट्टा नहुँदाको प्रतिकूलतालाई चिर्दै कृत्रिम खुट्टाको प्रयोग गरी बुढामगरले विश्व कीर्तिमान कायम गर्नुभएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसबाट सम्पूर्ण नेपाली गौरवान्वित भएको बताउनुभयो ।
बुढामगरले कायम गर्नु भएको कीर्तिमानले अपाङ्गता भएका व्यक्ति पनि अन्यसरह विश्व कीर्तिमान कायम गर्न सक्छन् भन्ने सकारात्मक सन्देश सञ्चार गरेको उहाँले बताउनुभयो । “तपाईंको कीर्तिमानले अपाङ्गता भएका व्यक्ति अरुको भर र दयामा मात्र बाँच्न सक्छन् भन्ने नकारात्मक सोचलाई परिवर्तन गर्न सहयोग पुग्ने विश्वास पनि मैले लिएको छु ।
उपराष्ट्रपति यादवले पर्वतारोही बुढामगरको अद्भूत आत्मविश्वास, साहस र सम्पूर्ण मानवजातिमा प्रेरणा जगाउने यो यात्रा निर्विध्न जारी रहोस् भन्दै प्रशंसा गर्नुभयो । उहाँले पर्वतारोही बुढामगरको उज्जवल भविष्यको कामना गर्दै सुख, शान्ति, समृद्धि, सुस्वाथ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभएको छ ।
रोल्पाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाउनुभएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो ।