दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान
खोटाङ, १४ जेठ । खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ ।
खोटाङको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घसंस्थासँगको सहकार्य गरि शनिबारदेखि औपचारिकरूपमा श्रमदान अभियान सुरु गरेको हो ।
श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताउनुभयो । “देश आर्थिक सङ्कटमा फस्दै गएको छ । सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “जसरी भए पनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो । नगरभित्रका सबै ग्रामीण सडक वर्षा सुरु हुनेबित्तिकै अवरुद्ध हुने गरेका छन् । ती सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी श्रमदान अभियान थालिएको हो । अभियानमा सबैको साथ र सहयोग अपरिहार्य छ ।”
नगरपालिकाले सुरु गरेको श्रमदान अभियानमा उद्योग वाणिज्य सङ्घ, खोटाङ यातायात प्रालि खोटाङ, ट्र्याक्टर तथा टिपर व्यवसायी सङ्घ, टोल विकास समिति, स्थानीय बासिन्दालगायतको सहभागिता रहेको छ । ट्र्याक्टर तथा टिपर व्यवसायी सङ्घमा आबद्ध एकजना व्यवसायीले कम्तीमा रु ४० हजार बराबरको श्रमदान उपलब्ध गराउने गरी अभियानमा सहभागी भएका छन् ।
श्रमदानको पहिलो दिन दिक्तेल–खार्मी–पाथेका सडकखण्डको करिब १२ किलोमिटर लामो सडकखण्डमा पर्ने सोल्मामा श्रमदान गरिएको हो । श्रमदान अभियानमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, वडाध्यक्ष ध्रुवविक्रम राई, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता थियो ।
नगरपालिकाले थालेको श्रमदान अभियानमा ट्रयाक्टर व्यवसायीहरू स्वःस्फूर्तरूपमा सहभागी भएको मेरुङ कन्ट्रक्सन प्रालिका सञ्चालक भलकाजी पुरीले बताउनुभयो । “जिल्लामा एक सय ३० वटा ट्रयाक्टर सञ्चालनमा छन् । नगरभित्रमात्रै ८०–८५ वटा ट्रयाक्टर नियमितरूपमा सञ्चालनमा छन् । नगरभित्रका व्यवसायीको सबै ट्रयाक्टरलाई कम्तीमा एक दिन श्रमदान गर्न अनुरोध गरिएको छ”, उहाँले भन्नुभयो, “। नगरपालिकाले थालेको श्रमदान अभियानले ट्रयाक्टर व्यवसायीलाई समेत सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”
नगरपालिकाले थालेको श्रमदान अभियानमा दिक्तेल बहुमुखी क्याम्पसलगायत जिल्लाका अन्य शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीसमेत सहभागी हुने भएका छन् । जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायलाई समेत श्रमदान अभियानमा सहभागी गराइने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले थालेको श्रमदान अभियानलाई आफूहरूको कार्यकालभरि निरन्तरता दिने योजना बनाइएको नगरप्रमुख भट्टराईले बताउनुभयो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले थालेको श्रमदान अभियानलाई जिल्लामा निकै महत्वका साथ हेरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सबै सरकारी कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मध्यपहाडी लोकमार्गबाहेक अन्य ग्रामीण सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएका छन् ।