बागलुङकाे भूजीखोलामा मोटरेबल पुल निर्माण भएपनि सम्पन्न हुनसकेन

बागलुङ, १६ जेठ । बागलुङकाे ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वार, छालहाल्न, खानीलगायतका ठाउँका नागरिकलाई सहजताका लागि वडा नं ६ को दोगाडीस्थित भूजीखोलामा तीन वर्ष अगाडि मोटरेबल पुल निर्माण गर्न थालिए पनि अहिलेसम्म सम्पन्न हुनसकेको छैन ।

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रकमबाट निर्माण भइरहेको पुलले ग्रामीण जनजीवनमा परिर्वतन ल्याउने अपेक्षा गरिएको छ । पुल निर्माणका लागि विसं २०७७ असार १६ गते महादेव/खिम्ती/क्याराभान जेभीले निर्माण जिम्मा लिएको थियो ।

दुई वर्षमा सक्ने गरी सम्झौता भएको पुलको पहिलोपटक विसं २०७९ असार १० गते म्याद सकिएको थियो । समयमै काम नसकेपछि म्याद थप भएको छ । निर्माण कम्पनीले विसं २०८० असार १० गतेसम्म सक्ने गरी म्याद थप गरेको हो । पूर्वाधार विकास कार्यालय बागलुङमार्फत सम्झौता भएको पुल निर्माणकार्य अहिले धमाधम भइरहेको इञ्जीनियर प्रकाश श्रीसले जानकारी दिनुभयो ।

पुल निर्माण अहिलेसम्म ६० प्रतिशतमात्रै सम्पन्न भएको उहाँको भनाइ छ । पुल रु चार करोड ८२ लाखमा बन्न थालेको हो । अहिले काम धमाधम भइरहे पनि म्याद सकिने बेलासम्म निर्माण सम्पन्न हुने सम्भावना निकै कम रहेको इञ्जीनियर श्रीसले बताउनुभयो ।

ओखरेनी, गाडीखोला, कुदुम, चामीद्वारलगायतका गाउँको मुख्य बजार बुर्तिबाङ हो । बुर्तिबाङ बजारबाट यी गाउँमा पुग्न दुई वर्ष अगाडिसम्म दुईवटा पुल तर्नुपथ्र्यो । बुर्तिबाङको लक्ष्मीकुण्ड घाटमा पुल बनेपछि अहिले दोगाडीसम्म समस्या छैन । दोगाडीसम्म गाडीमा पुगेपछि अर्को परिवर्तन गर्नुपर्ने समस्या अहिलेको बर्खामा पनि यथावतै रहने भएको छ । बर्खा सुरु हुन थालेको तर पुलको काम सकिने छाँटकाँट नदेखिएको भन्दै यसपालिको बर्खामा पनि आफूहरूले गाडीमा सिधा यात्रा गर्न नपाउने स्थानीय दलबहादुर बुढामगरले गुनासो पोख्नुभयो ।

सडक खुलेको वर्षौँ बितिसक्दा पनि स्थानीयले सहजरूपमा यात्रा गर्न नपाएको बुढामगरले बताउनुभयो । सडक पनि कच्ची हुँदा बर्खाको चार महिना जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । बर्खाको समय गाउँमा कोही बिरामी परे अस्पताल पुर्याउन निकै समस्या भइरहेको स्थानीय बुढामगरले बताउनुभयो । सरोकारवाला निकायको मौनताले अहिलेसम्म पुल निर्माण हुन नसकेको उहाँ बताउनुहुन्छ ।

ढोरपाटन –६ का वडाध्यक्ष उमेशकुमार बुढामगरले अहिलेसम्म पुल नबन्दा यस क्षेत्रका दर्जनौँ गाउँका हजारौँ स्थानीय मारमा परेको बताउनुभयो । पुलका कारण गाउँमा उत्पादन भएको वस्तुलाई बजारसम्म पुर्याउन र सामान आयात गर्न ठूलो समस्या भएको उहाँको भनाइ छ ।