चितवनकाे कालिकामा विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी
चितवन, १९ जेठ । चितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ ।
स्थानीय रैथाने बाली प्रवर्द्धन गर्नका लागि नगरपालिकाले स्कुलका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाउन थालेको हो ।
पहिलो चरणमा यस वर्ष कालिका वडा नं१० स्थित उक्त विद्यालयका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाइएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यस विद्यालयका विद्यार्थीलाई असारसम्म फापर र कोदोको रोटी खुवाइनेछ ।
यस वर्ष परीक्षणस्वरुप एउटा विद्यालयबाट कार्यक्रम सुरुवात गरेका छौँ, नगरप्रमुख रेग्मीले भन्नुभयो, “यसको प्रभावकारिताका आधारमा आगामी वर्ष अन्य विद्यालयमा पनि यो कार्यक्रम लागु गर्छौं । पालिकाले कृषि शाखाको रैथाने बाली प्रवर्द्धन कार्यक्रममार्फत यस वर्ष रु एक लाख बजेट विनियोजन गरिएको छ भने यस विद्यालयमा सरकारले दिने नियमित खाजा पनि छ” ।
आगामी वर्षदेखि विद्यार्थीलाई फापर र कोदोसँगै गिठ्ठा भ्याकुर, तरुल र पिडालु पनि खुवाउने उहाँले बताउनुभयो । विद्यालयका प्राचार्य जीतबहादुर भट्टराईले रैथाने बालीको प्राङ्गारिक हुने भएकाले यसैलाई जोड दिइएको बताउनुभयो ।
रैथाने वालीहरु लोप हुँदै गइरहेको अवस्थामा विद्यालयस्तरमा यस्ता खाजा खुवाउँदा पछिल्लो पुस्तालाई रैथाने बालीका बारेमा राम्रोसँग जानकारी हुने उहाँको भनाइ थियो । विद्यालयमा अधिकांश चेपाङ र जनजाति समुदायका बालबालिका अध्ययनरत छन् ।
कक्षा पाँचसम्ममा एक सय ६४ विद्यार्थीलाई खाजा नियमित खुवाइएको र खाजाकै कारण विद्यार्थीको सङ्ख्यासमेत बढेको छ । नियमित खाजाका लागि सरकारले दैनिक रु पन्ध्र दिने गरेको छ । त्यसबाट स्कुलले बालबालिकालाई जाउलो चिउरा तरकारी खुवाउने गरेको छ ।
कालिका नगरपालिकाका कृषि शाखा प्रमुख लक्ष्मण पोखरेलले रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस वर्ष विनियोजित रु १० लाख बजेटबाट केही रकम विद्यालय खाजामा प्रयोग गरिएको बताउनुभयो ।