दुग्ध उद्योग स्थापना भएपछि मकवानपुर बजार व्यवस्थापनमा सहज
मकवानपुर, १९ जेठ । मकवानपुरको मक्रान्चुलीमा स्थापना भएको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले यहाँ उत्पादित दूध खरिद गर्न थालेपछि कृषकलाई बजारीकरणमा सहज भएको छ ।
दुग्ध उद्योगका रूपमा सञ्चालित उक्त सहकारीले उत्पादित दूध खरिद गरिदिएपछि यहाँका कृषक उत्पादन बढाउन लागिपरेका हुन् ।
उद्योगमा दैनिक चार हजार दुई सय लिटर दूध सङ्कलन भइरहेको छ । दैनिक दुई हजार लिटर दूधको छुर्पी, पनिर, घ्यू, बटर, दही उत्पादन गर्दै आएको उद्योगले जनाएको छ । यस उद्योगबाट दैनिक १३ केजी छुर्पी, ७० केजी बटर, मागअनुसार घ्यू, एक सय लिटर दही, दुई सय लिटर दूधको पनिर उत्पादन गर्ने गरिएको दुग्ध प्रशोधन उद्योगका प्रमुख अनिश पोख्रेलले जानकारी दिनुभयो ।
बिहानै गाउँ वरिपरिका किसान दूधका साना र ठूला क्यान बोकेर सहकारीमा दूध बिक्री गर्न आउँछन् । अहिले यो उनीहरुको दैनिकी नै बनेको छ ।
उद्योगमा दही, घ्यू, पनिर, छुर्पी उत्पादनका लागि दूध प्रशोधन गर्ने काम भइरहने सहकारीका व्यवस्थापक शशी लम्सालले बताउनुभयो । यहाँबाट प्रशोधन गरिएको दूधजन्य उत्पादनको बिक्रीमा समस्या नरहेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७७/७८ मा ‘नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना, विकेन्द्रीकृत आयोजना सहयोग इकाई’ हेटौँडाको ५० प्रतिशत अनुदान सहयोगमा दुग्ध प्रशोधन उद्योग स्थापनाका लागि काम सुरु गरिएको थियो । सहकारीलाई नै उद्योगका रूपमा सञ्चालन गर्ने गरी विसं २०७८ माघ २७ गते उद्योग दर्ता गरी विसं २०७९ पुस १३ गतेबाट भवन निर्माणलगायत काम सकेर सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
भवन निर्माण र उद्योगमा व्यवस्थापनका लागि एकाइबाट रू एक करोड सहयोग लिएर काम थालिएको भन्दै थप रू डेढ करोड लगानी गरेर दूध प्रशोधनका लागि आवश्यक सामाग्रीको व्यवस्था गरिएको दुग्ध सहकारीका अध्यक्ष अर्जुन दाहालले जानकारी दिनुभयो ।
सुरुआती दिनमा यस सहकारीले दूध चिस्याउने काम गरेर बिक्री गर्दै आएको थियो भने हाल दुग्धजन्य पदार्थ उत्पादन गरेर गाउँबाट नै उत्पादन गरी सहरसम्म बिक्री गरिरहेको अध्यक्ष दाहालले बताउनुभयो । उद्योग स्थापनाले यहाँका युवालाई रोजगारी दिनुका साथै स्थानीय उत्पादनलाई ठूला सहरमा बिक्री गर्ने वातावरणसमेत बनेको उहाँको भनाइ थियो ।
उद्योगमा उत्पादन भएका सामग्री हेटौँडा, काठमाडौँ, पोखरालगायत सहरमा बिक्री गर्ने गरिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक यस क्षेत्रका चार सय ५१ किसानले सहकारीमा दूध बिक्री गर्दै आएका छन् ।
सहकारी संस्थालाई उद्योगका रुपमा अगाडि बढाउन मनकामना दुग्ध उत्पादक सहकारी संस्थालाई अनुदान रकम उपलब्ध गराइएको विकेन्द्रीकृत आयोजना सहयोग इकाई हेटौँडाका आयोजना समन्वय प्रमुख डा विदुरप्रसाद गौतमले बताउनुभयो ।
सहकारीमा किसान तथा बैंककोसमेत लगानी भएकाले प्रत्यक्षरुपमा सबैलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उद्योग स्थापनाका लागि सहयोग गरिएको उहाँले बताउनुभयो ।
