ताप्लेजुङमा अनुसन्धानका लागि हाब्रे सेन्टर

ताप्लेजुङ, २३ जेठ । ताप्लेजुङमा प्रत्यक्षरूपमा रातो हाब्रे (रेड पाण्डा) को बासस्थान तथा बसाइँको अवस्थाबारे अध्ययन तथा अनुसन्धानका लागि एक अनुसन्धान केन्द्र खोलिएको छ ।

फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा यस दुर्लभ वन्यजन्तुबारे अध्ययन तथा अनुसन्धानका लागि जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले उक्त केन्द्र निर्माण गरेका हुन् ।

जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र निर्माण गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्र स्थापनाका लागि रू एक करोड ५७ लाख खर्च भएको छ ।

रेडपाण्डा का लागि उपयुक्त बासस्थान ताप्लेजुङ पनि हो । यहाँको धेरै स्थानमा रेड पाण्डा पाइन्छ रेडपाण्डा नेटवर्कको प्रविधिक तथा आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको सहजीकरणमा रेड पाण्डा संरक्षण कार्यक्रम हुँदै आएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले बताउनुभयो ।

रेड पाण्डा दसदेखि २५ डिग्री सेल्सियस तापक्रम र वार्षिकरूपमा कमै मात्र तापक्रम घटबढ हुने १८०० देखि ४८०० मिटर उचाईका क्षेत्रमा पाइने गर्छ । यो खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गलमा पाइन्छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन)ले रेड पाण्डालाई सन् १९९६ देखि सङ्टापन्न जीवको सूचीमा राखेको छ ।

प्राकृतिक वासस्थानको निरन्तर विनाश, निगालो र बाँसजन्य जङ्गलको अभाव, कम प्रजनन क्षमता, कम जन्मदर तर उच्च मृत्युदर, अत्यन्तै कमजोर शरीर, चोरी(शिकारी, डढेलोलगायत कारणले हाब्रेको सङ्ख्या दिनदिनै घटिरहेको छ ।

नेपाल सरकारको पछिल्लो सर्वेक्षणले रेडपाण्डा २३ जिल्लामा पाइने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *