दाङमा इनार, कुवा सुक्न थालेपछि खानेपानीको समस्या

दाङ, २५ जेठ । अत्यधिक गर्मीका कारण दाङमा इनार सुक्न थालेपछि पानीको समस्या भएको छ ।

गाउँमा पानीको मुख्य स्रोत इनार, कुवा रहेकामा गर्मीका कारण इनार र कुवामा पानी सुक्न थालेको हाे ।

“जेठको पहिलो सातादेखि नै धाराबाट खानेपानी झर्न छाडेको छ”, घोराही–९ की मदा गौतमले भन्नुभयो, “यस वर्ष खानेपानीको अभाव बढ्दो छ । गाउँमा पानी खान नपाएर काकाकूल भइएला जस्तो छ ।” उहाँका अनुसार गाउँका धेरैजसोका इनार सुकेका छन् ।

रातभरी इनारमा जम्मा भएको चार, पाँच गाग्री पानी गाईवस्तुका साथै मानिसका लागि पुर्याउनुपर्ने बाध्यता रहेको गौतमको भनाइ छ । “वडा नं ६, ८, ९ र १० मा पानीको मुख्य स्रोत धारा, इनार र कुवा हुन् । अहिले सबै स्रोत सुक्न थालेपछि खानेपानीको हाहाकार मच्चिएको छ”, उहाँले भन्नुभयो । वैशाख मध्यपछि पानीका मुहान सुक्दै गएका भन्दै जेठ लागेपछि पानीको समस्या झन बढे्को उहाँले बताउनुभयो ।

तराईमा वैशाख, जेठलाई अत्यधिक गर्मी हुने समयका रूपमा लिइन्छ । हरेक वर्ष यस समयमा पानीको समस्या हुने गरेको भए पनि यस वर्ष भने पानीको समस्या जटिल बन्ने सङ्केत देखिएको यहाँका स्थानीय बताउँछन् । इनार एकपछि अर्को सुक्दै गएका छन् ।

तल्लो भेगका बस्तीमा खानेपानीका लागि प्रयोग हुँदै आएका पानीका स्रोत सुकेर समस्या बढेको घोराही–७ सौडियारकी सुदा शर्माले बताउनुभयो । “यहाँ १० वर्ष पहिलेका इनार सबै सुकीसके, पछि खनिएका इनारमा पनि अब पानी भर्न नसकिने अवस्थामा पुगेका छन्”, उहाँले भन्नुभयो, “बर्सेनि इनारमा पानीको सतह गहिरिँदै जाँदा खानेपानीको समस्या झनझन बढ्दै गएको छ ।”

लामो खडेरीले खानेपानीका सबै मुहान र स्रोत सुक्न थालेपछि नगर क्षेत्रका ३० भन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको शर्माले बताउनुभयो । खानेपानीका लागि अन्य विकल्प नभएका कारण पानीको समस्या भएको स्थानीयको भनाइ छ ।

घोराही उपमहानगरपालिकामा १८ हजार ५३ परिवार अझै कुवाको भरमा छन । तुलसीपुर उपमहानगरपालिकामा कुवा र खोलाकै पानीको भरमा १७ हजार चार सय ५४ परिवार छन् । लमही नगरपालिकामा रहेका १३ हजार चार सय ५८ परिवारमध्ये ह्याण्डपम्प, कुवा र खोलाको पानीको भरमा छ हजार तीन सय ८४ परिवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *