भारतमा आयोजना हुने १४औँ साफका लागि नेपाली टिमको घोषणा

काठमाडौं, २५ जेठ । भारतमा आयोजना हुने १४औँ साफ च्याम्पियनसिप फुटबलका लागि नेपाली टिमको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बिहीबार मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेसले नेपाली टाेलीकाे अन्तिम नाम घोषणा गरेको हाे । अनेसेले तीन नयाँ खेलाडी समेट्दै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका छन् ।

मिडफिल्डर लाकेन लिम्बु र डिफेन्डरद्वय सिमान्त थापा र विमल पाण्डे पहिलो पटक टोलीमा परेका छन् । विमल त्रिभुवन आर्मी, सीमान्त जावलाखेल युथ र लाकेन थ्रीस्टार क्लबका खेलाडी हुन् ।

साफ तयारीका लागि प्रशिक्षक एनेसले १७ जेठमा ३० जना खेलाडीलाई प्रारम्भिक रणनीतिक तयारीका लागि प्रशिक्षणमा बोलाएका थिए । तीमध्येबाट आशिष गुरुङ, विक्रम लामा, एन्जल महर्जन, सुदीप गुरुङ, विशाल तामाङ, जिलेस्पीजंग कार्की र दिनेश हेन्जन गरी ७ जनालाई कटौती गरिएको हो ।

नेपाली टोलीमा गोलकिपर किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ, डिफेन्डर विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमान्त थापा, मिडफिल्डर पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लाकेन लिम्बु र आभास लामिछाने, फरवार्ड आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी र विमल घर्ती मगर रहेका छन् ।

साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म बेंगलुरुमा हुनेछ । साफमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ ।

समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेको छ । यस संस्करणमा श्रीलंका भने हुने छैन । फिफाको प्रतिबन्धको कारण श्रीलंकाले खेल्न नपाएको हो । तर कुवेत र लेबनानले भने आमन्त्रित टोलीको रुपमा खेल्न लागेका हुन् ।

साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । असार ६ गते हुने नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार पौने ४ बजे शुरु हुनेछ ।

नेपालले आफ्नो दोस्रो खेलमा असार ९ गते आयोजक भारतसँग खेल्नेछ । त्यस्तै नेपालले आफ्नो तेस्रो तथा समूह चरणको अन्तिम खेलमा असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ ।