तनहुँमा ‘लम्पी स्किन’विरुद्ध पशुलाई खोप लगाउन थालियो
तनहुँ, २९ जेठ । तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन थालिएकाे छ । म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालेको हो ।
पछिल्लो समय जिल्लाभर सो रोग फैलिएपछि गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाउने कार्य सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाउन थालिएको छ ।
उहाँले भन्नुभयो, “व्यावसायिक रुपमा गाईभैँसी पालन गरिएका र दूध उत्पादन बढी गर्ने कृषकको गोठमै पुगेर खोप लगाउन सुरु गरेका छौँ । क्रमशः सबै वडामा पशुलाई खोप लगाइनेछ ।”
प्रमुख डा शाहका अनुसार गाउँपालिकाका सात वटै वडाका दुई हजार गाईभैँसी, गोरु, राँगालाई खोप लगाउने कार्यक्रम रहेको छ । गाउँपालिकाबाटै खोप खरिद गरी पशुलाई लगाउन थालिएको बताउँदै उहाँले भन्नुभयो, “पहिलो चरणमा दुई हजार खोपको मात्रा आएको छ । आवश्यक परे थप खोप खरिद गरेर लगाइनेछ ।”
उहाँका अनुसार पशुमा पूर्ण खोप कार्यक्रमअन्तर्गत गाउँपालिकाका वडामा खोपकर्ताको रुपमा खटिएका भेटेरिनरी प्राविधिकलाई पुनः यस आकस्मिक अवस्थामा खोप लगाउन परिचालित गरिएको छ । उहाँले भन्नुभयो, “यो खोप सङ्क्रमित पशुलाई लगाउने होइन, स्वस्थ पशुलाई रोगबाट बचाउनका लागि लगाउने हो ।”
गाउँपालिकाका सबै वडामा लम्पी स्किन देखिए पनि एकिन तथ्याङ्क भने नरहेको उहाँले बताउनुभयो । सबै वडामा भेटेरिनरी प्राविधिक नभएकाले कतिलाई लम्पी स्किन लाग्यो भन्ने तथ्याङ्क आफूहरुसँग नरहेको डा शाहको भनाइ छ । उहाँका अनुसार लम्पी स्किनबाट सङ्क्रमित भएकालाई पशुको उपचार कार्य पनि जारी रहेको छ ।
आँबुखैरेनी गाउँपालिकाले लम्पी रोग नियन्त्रणका लागि पशुलाई खोप लगाउने भएको छ । पछिल्लो समय गाउँपालिकाका सबै वडामा उक्त रोग फैलिएकाले नियन्त्रणका लागि खोप लगाउन लागिएको हो । गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा सन्तोष देवकोटाले गाईभैँसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप लगाइदिने बताउनुभयो ।
जिल्लाका सबै पालिकामा लम्पी स्किनको सङ्क्रमण फैलिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार जिल्लाका छ सय ५० भन्दा बढीमा यो सङ्क्रमण देखिएको छ भने ४० भन्दा बढी पशु मरिसकेका छन् ।
जिल्लाका अधिकांश पालिकामा कृषकले पालेका पशुमा लम्पी रोगको सङ्क्रमण देखिएको छ । गर्मी मौसममा टोक्ने झिङ्गा, लामखुट्टे, किर्नाजस्ता किराको सङ्ख्या बढी हुने तथा थप सक्रिय हुने हुनाले यस रोगको प्रकोप बढी देखिने म्याग्दे गाउँपालिकाका पशुसेवा शाखा प्रमुख डा शाहले बताउनुभयो ।