चितवनका तीन हजार गाईभैँसीलाई लम्पीस्किनविरुद्धको खोप

चितवन, ३२ जेठ । चितवनका तीन हजार तीन सय ८० गाईभैँसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ । पशु पालक किसान र स्थानीयको सक्रियतामा खोप लगाईएको हो ।

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार भरतपुर महानगरपालिकाका दुई हजार नौ सय ९०, रत्ननगर नगरपालिकाका तीन सय ४० र राप्ती नगरपालिकाका ५० गाईभैंसीलाई लम्पीस्किनविरुद्धको खोप लगाइएको छ ।

खोप खरिदका लागि कार्यलयमा बजेट अभाव हुँदा स्थानीय पालिका र कृषक आफैँले खोप खरिद गरी लगाएको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकार र सङ्घीय सरकारले खोपका लागि बजेट विनियोजन नगर्दा समस्या आएको हो ।

आचार्यले भन्नुभयो, “सरकारले अहिलेसम्म बजेट विनियोजन गरेको छैन । अब बजेट आए पनि खरिद प्रक्रिया जाँदा ढिला हुन्छ ।”कार्यालयमा बजेट नहुँदा कृषक आफैँले खोप खरिद गरेका हुन् ।

अति प्रभावित क्षेत्रका पशुपालक कृषकले आफैँ खोप खरिद गरी लगाएका छन् । कार्यालयले अहिलेसम्म पाँच हजार गाईभैँसीलाई औषधि वितरण गरेको उहाँले जानकारी दिनुभयो । रोग न्यूनीकरणका लागि मलम, स्प्रे, ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, फिनेल, भिरकोन जस्ता औषधि वितरण गरिएको छ ।

कार्यालयले जिल्लाका प्रभावित क्षेत्रमा जनचेतनाका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । जनचेतनाका लागि पालिकास्तरमा सचेतना गोष्ठी, जिल्लाका सहकारीमार्फत फ्लेक्स, ब्रुसर र पम्प्लेट वितरणलगायतका काम गरिएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा हालसम्म चार हजार एक सय गाईभैँसी यस रोगबाट प्रभावित भएका छन् । जसमध्ये एक सय १२ वटा मरिसकेको कार्यालयले जनाएको छ । यस रोगका कारण जिल्लाको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिका बढी प्रभावित भएका छन् । जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार नौ सय ७८ भैँसी पालिएको छ ।