तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सुविधा विस्तार गरिँदै

तनहुँको, ३२ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य सुविधा विस्तार गर्दै लगेका छन् । गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनपश्चात् आएका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका हुन्।

गाउँपालिकामा रहेको स्वास्थ्यचौकीलाई गत मङ्सिरदेखि १५ शय्याको अस्पतालमा स्तरोन्नति गरिएपछि गाउँपालिकाले उक्त अस्पतालमा आँखा उपचार केन्द्रसमेत विस्तार गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नागरिकको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय भएकाले स्वास्थ्य क्षेत्रलाई विस्तार गर्दै नागरिकलाई सहज स्वास्थ्य सुविधा उपलब्ध गराउन लागिपरेकाे बताए ।

अध्यक्ष चुमानका अनुसार गाउँपालिकासँगै रहेको स्वास्थ्यचौकीलाई १५ शय्याको अस्पतालमा विस्तार गरी सञ्चालन गरिएको छ । अस्पतालबाट इमर्जेन्सी, आधारभूत प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी लगायतका सेवा प्रदान भइरहेको छ ।

अध्यक्ष चुमानका अनुसार गाउँपालिकाले आफ्नै स्रोतमा एमडिजिपी चिकित्सक(विषयगत विधाका विशेषज्ञ चिकित्सक) नियुक्त गरेको छ । “एमजिडिपी डाक्टर गाउँपालिकाले राख्न सक्छ भनेर खिस्सीटिउरी गर्थे । अहिले पालिकाको पहलमा अस्पतालले विशेषज्ञसहितको सेवा दिइरहेको छ”, उहाँले भन्नुभयो । यहाँ सञ्चालित अस्पतालबाट बिरामी बाहिर लैजानपरे गाउँपालिकाले एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने गरेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष चुमानले स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाउँदै आवश्यक परे विकास बजेट घटाएर स्वास्थ्य क्षेत्रमा लगानी गरिने बताउनुभयो । “हामी बरु भत्ता नलिउँला, तर स्थानीयलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिन्छौँ”, उहाँको भनाइ थियो । अहिले अस्पताल सञ्चालनका लागि केही रकम लिनपरेको भन्दै निकट भविष्यमा अस्पतालबाट उपलब्ध हुने सेवालाई निःशुल्क बनाइने चुमानले बताउनुभयो ।

गाउँपालिकाले निकट भविष्यमा शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरिरहेको अध्यक्ष चुमानले जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरी, एपेन्डिक्स, हर्निया र हाइड्रोसिलको शल्यक्रिया सेवा सुरु गर्ने तयारी भइरहेको छ ।

भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले केही दिन अघिदेखि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको अध्यक्ष चुमानले बताउनुभयो । केन्द्र सञ्चालनमा आएसँगै आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको उहाँको भनाइ थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *