३५ वर्ष उमेरपछि नियमित मधुमेह परीक्षण गर्न चिकित्सकको सुझाव
काठमाडौँ, २८ कात्तिक । मधुमेहबारे जनचेतना फैलाउने, जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले आज विश्व मधुमेह दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष नोभेम्बर १४ मा मनाइने यस दिवसका अवसरमा चिकित्सकहरूले स्वस्थ जीवनशैली अपनाउन र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका देशमा मधुमेह तीव्र गतिमा बढेको छ । बढी तौल र मोटोपना यसका प्रमुख कारणमध्ये पर्छन् ।
मधुमेहले अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थासम्म निम्त्याउन सक्छ । स्वस्थ खानपान, नियमित व्यायाम र सुर्तीजन्य पदार्थबाट टाढा रहँदा टाइप–२ मधुमेहको जोखिम कम गर्न सकिने चिकित्सकहरू बताउँछन् ।
मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराईले मोटोपना भएका, परिवारमा मधुमेहको इतिहास भएका तथा कोलेस्ट्रोल उच्च भएका व्यक्तिलाई नियमित परीक्षण गराउन सुझाव दिएका छन् । उनका अनुसार ३५ वर्ष उमेर पुगेपछि सबैले नियमित रूपमा मधुमेह परीक्षण गराउनु उचित हुन्छ ।
टाइप–२ मधुमेह सुरुमा स्पष्ट लक्षण नदेखिई विस्तारै विकसित हुन सक्ने भएकाले समयमै पहिचान, नियमित परीक्षण र उपचारमा ध्यान दिन आवश्यक छ ।
