वर्षाले नेपाल र भारतबीचको खेल रद्द
काठमाडाैं, ३२ जेठ । एसिसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत नेपाल र भारत ‘ए’ बीच आज हुने भनिएको खेल वर्षाका कारण रद्द भएको छ ।
हङकङको मङकङ क्रिकेट मैदानमा वर्षा भएपछि खेलमा टस नै हुन सकेन । यस खेल रद्द भएसँगै नेपाल र भारत ‘ए’ ले समान एक/एक अङ्क बाँडेका छन् ।
अङ्क बाँडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित बनेकाे छ । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरेको हो ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा मलेसिया, युएई, बङ्गलादेश र श्रीलङ्का छन् ।
नेपालले दुई खेलपछि एक अङ्क जोडेको छ । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो
