पोखराको पर्यटनमा ड्रागन बोट रेस फेस्टिभल
कास्की, ४ असार। पाेखरामा पहिलोपटक ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ हुन लागेको छ ।
कोरोना महामारीका कारणले सुस्ताएको पर्यटनले विस्तारै गति लिँदै गर्दा नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको फेवातालमा ड्रागन बोट रेस हुन लागेको हो ।
पोखरामा पहिलोपटक हुन लागेको ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ले यहाँको पर्यटनका लागि महत्वपूर्ण बन्ने विश्वासका साथ नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक भित्र्याउने उद्देश्य लिइएकाे छ ।
यही असार ८ र ९ गते सञ्चालन हुने फेस्टिभलको तयारी भइरहँदा यतिखेर पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । फेवाताल किनार क्याम्पिङ चोकमा हुने फेस्टिभलले यहाँको अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुग्ने अपेक्षा गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।
फेटिभलका लागि पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सहयोगी संस्थाका रूपमा रहेका छन् । फेस्टिभलमा हुने डुङ्गा दौडका लागि चीनबाट आठ वटा विशेष खालका डुङ्गा पोखरा ल्याएर परीक्षण सुरु गरिएको उहाँले बताउनुभयो ।
फेस्टिभलअन्तर्गत चिनियाँ चार र नेपाली चार गरी आठ टोलीबीच डुङ्गा दौड प्रतियोगिता गरिनेछ । पाँच सय र एक हजार मिटरको दौडमा प्रतिष्पर्धा हुनेछ । बोट रेसका लागि गत वैशाख २१ गते नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । चीनले यस प्रकारका बोट रेस फेस्टिभल ५० भन्दाबढी देश र क्षेत्रमा आयोजना गर्दै आएको छ ।
फेस्टिभलमा चीनबाट विशिष्ट पाहुनाको सहभागिता हुने र यसैका सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय चाटर्ड उडान हुने भएको छ । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलका लागि उक्त उडानमार्फत लगभग एक सय ३० जना आउने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच गत शुक्रबार सम्झौता गरिएको हो । प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ (असार ६)मा चार्टर्ड उडानका लागि अनुमति पाएको हो । उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेछ ।
नेपालमा भित्रने चिनियाँ पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पोखरा आउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दक्षिण एशियामा नै पहिलो पटक हुन लागेको यस प्रतियोगिता पोखरेलीका लागि महत्वपूर्ण अवसर रहेको पोखरा महानगरपालिका पर्यटन समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताउनुभयो ।
“कोभिडबाट थलिएको पर्यटनलाई उकास्नका लागि यो फेस्टिभल आफैँमा विशेष छ”, उहाँले भन्नुभयो, “यसलाई भव्य र सभ्यरुपमा सम्पन गर्नु हाम्रो महत्वपूर्ण जिम्मेवारी हो ।” फेस्टिभलसँगै पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने उल्लेख गर्दै उहाँले यहाँ सञ्चालित साहसिक पर्यटनका गतिविधि सधैँ उनीहरूको रोजाइमा पर्ने गरेको बताउनुभयो ।