पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान
काठमाडौं, ६ असार । कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान भएकाे छ ।
सञ्चालनमा आएको छ महिनापछि व्यावसायिकरूपमा चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भरेकाे हाे ।
विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार चीनको छेन्दु–तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको सिचुवान एयरलाइन्सको एयरबस ए–३१९ जहाज आज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाे हाे ।
जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर आएको हो । यही जहाजमा चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डलसमेत रहेका छन् ।
सिचुआन एयरलाइन्सकाे जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा बसेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ ।
पोखरा विमानस्थल १ जनवरी २०२३ बाट सन्चालनमा आएको हाे भने अन्तर्राष्ट्रिय जहाज पहिलोपटक अवतरण गरेको हो ।