आजदेखि हुने साफ च्याम्पियनसिपमा कुवेत र नेपाल भिड्दै
काठमाडाैं, ६ असार । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजबाट भारतमा सुरू हुँदैछ।
दक्षिण एसियाकै सबैभन्दा ठूलो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताकाे उद्घाटन खेल भारतको बेंग्लोरमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ ।
नेपाल र कुवेतबीच सन् २०१९ यता पाँच खेल भएका छन्। सन् २०१९ मा कुवेतमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेपछि चार खेलमा कुवेतले जित निकालेको छ। गत वर्ष एसियन कपको छनोटमा कुवेतले नेपालमाथि ४-१ गोलको जित निकालेको थियो।
नेपाली राष्ट्रिय फुटबल टिम गत साता फिलिपिन्ससँग मैत्रीपूर्ण खेलेपछि साफ च्याम्पियनसिपमा भाग लिन भारतमा पुगेको थियो।
नेपाली टिममा गोलकिपर किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ छन् भने डिफेन्डर विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा रहेका छन् ।
टिममा मिडफिल्डरःपुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु, आभास लामिछाने छन् भने फरवार्डर आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर सहभागी भएका छन् ।
नेपालले साफका लागि कमजोर तयारी गर्दा अरु टिमले भने राम्रो तयारी गरेका छन्। कुवेत नेपालका लागि बलियो प्रतिद्वन्द्वी हो। यस्तै पाकिस्तानले विदेशमा खेलिरहेका खेलाडीलाई समेटेर बलियो टिम बनाएको छ।
फिफा वरीयतामा भारत १०१औं, कुवेत १४३औं, नेपाल १७४औं र पाकिस्तान १९५औं स्थानमा छन्।
