नेप्से परिसूचक सामान्य अंककाे वृद्धि
काठमाडाैं, ७ असार । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्ला तीन कारोबार दिन निरन्तर घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।
यस दिन नेप्से परिसूचक ४.७५ अंक बढेर २०५५.५३ विन्दुमा पुगेको छ भने फ्लोट इण्डेक्स ०.३२ अंक बढेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.३० अंक घटेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३६ अंक घटेको छ।
यस दिन २७६ स्टकको ५६ हजार ५५६ पटकको कारोबारमा ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको ८० लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ८.६५ प्रतिशत बढेको छ। त्यसैगरी, जीवन बीमा उपसमूहको परिसूचक ३.२४ प्रतिशत बढेको छ भने निर्जीवन बीमाको २.७७ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ। सो होटलको यस दिन २९ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
बिहीबार ६ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन तारागाउँ होटल, आरियन्टल होटल, कालिञ्चोक दर्शन, बिपिडब्लु, सिटि होटल र हिमालयन लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।