वेस्ट इन्डिजसँग फराकिलाे हार व्यहाेर्दै नेपाल
काठमाडौं, ७ असार । आईसीसी विश्वकप छनोट अन्तर्गतको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएका छन् ।
जिम्बाबेको हरारे स्पोर्टस एकेडेमीमा टस हारेर पहिलाे बलिङ गरेको नेपालले ३ सय ४० रनको लक्ष्य पाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ५०औं ओभरको चौथो बलमा अलआउट हुँदै २ सय ३८ रन मात्रै बनाउन सफल भए ।
पहिलो इनिङमा बलिङमा उत्कृष्ट सुरुआत गरको नेपालले वेस्ट इन्डिजका कप्तान शाही होप र निकोलास पुरानबीचको साझेदारि तोड्न नसक्दा विशाल योगफल बनाएकाे थियाे ।
पुरनसँग २ सय १२ रनको साझेदारी गर्दै होपले सर्वाधिक १ सय ३२ रनको योगदान गरेर पभेलियन फर्किए । उनले ललित राजवंशीको बलमा भिम सार्कीबाट क्याच आउट हुनु अघि १ सय २९ बल खेल्दै १० चौका र तीन छक्का प्रहार गरे ।
दीपेन्द्र सिंह ऐरीको बलमा क्याच आउट भएका पुरनले ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रन जोडे । ओपनर ब्रान्डन किङ ४२ बलमा समान २ चौका र छक्कासहित ३२ रनमा आउट हुँदा, रोभमन पोवेल २९ रनमा आउट भए ।
नेपालको बलिङमा ललित राजवंशीले १० ओभरमा ५२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।
नेपालको ब्याटिङमा आसिफ शेखले सर्वाधिक ६३ रन जोडे । गुलशन झाले ४२ रन योगदान गर्दा कप्तान रोहित पौडेल ३० रन, आसिफ शेख २८ रन, दीपेन्द्रसिंह ऐरी २३ बनाएर पभेलियन फर्कँदा करण केसी २८ रनमा अविजित रहे ।
पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हाराएको थियो ।
