चालु आर्थिक वर्षकाे एघार महिनामा १३ खर्ब ३७ अर्बकाे व्यापारघाटा 

काठमाडाैं, ७ असार । चालु आर्थिक वर्षकाे एघार महिनामा नेपालकाे आर्थिक घाटा रु १३ खर्ब ३७ अर्ब ३९ करोड पुगेको छ ।

आज भन्सार विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार ११ महिनामा मुलुकले कूल रु १४ खर्ब ८० अर्ब ९८ करोड बराबरको वस्तु आयात गर्दा रु एक खर्ब ४३ अर्ब ५८ करोड बराबरको मात्रै निर्यात गरेको देखिएकाे हो । याे हिसावमा नेपालले एघार महिनामाकाे अवधिमा रु १३ खर्ब ३७ अर्ब ३९ करोड घाटा व्यहाेरेकाे छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक व्यापारको आँकडा घटेको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १६ दशमलव शून्य एक, निर्यात २२ दशमलव ७४ र कूल व्यापार १६ दशमलव ६५ प्रतिशतले घटेको छ ।

कूल वैदेशिक व्यापार घटेसँगै गत वर्षको तुलनामा व्याघार घाटा पनि १५ दशमलव २१ प्रतिशतले घटेको छ ।
यो अवधिमा मुलुकले कूल निर्यातको तुलनामा १० दशमलव ३१ गुणा धेरै आयात गरेको छ । त्यस्तै, कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९१ दशमलव १६ प्रतिशत र निर्यातको हिस्सा आठ दशमलव ८४ प्रतिशत रहेको छ ।

नेपालले सबैभन्दा बढी वैदेशिक व्यापार गर्ने छिमेकी मुलुक भारतसँग मात्र हाे । यो अवधिमा भारतसंग रु आठ खर्ब ३८ अर्ब ८५ करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । जेठ मसान्तसम्ममा भारतबाट रु नौ खर्ब ३७ अर्ब ८३ करोडको सामान आयात हुँदा रु ९८ अर्ब ९७ करोड बराबरको मात्रै निर्यात भएको देखिन्छ ।

त्यस्तै, चीनबाट रु दुई खर्ब दुई अर्ब ३७ करोडको वस्तु आयात हुँदा रु एक अर्ब ५२ करोडको मात्र निर्यात भएको छ । आँकडाकाे हिसावमा चीनसँगको व्यापारघाटा रु दुई खर्ब ८४ करोड बराबर छ । नेपालले धेरै व्यापार घाटा व्यहोरेका मुलुकहरूमा इन्डोनेसियासँग रु ३९ अर्ब ७५ करोड, संयुक्त अरब इमिरेट्ससँग रु ३० अर्ब ७४ करोड र अर्जेन्टिनासँग रु २३ अर्ब ४७ करोड रहेको छ ।

नेपालले धेरै व्यापारमा नाफा गरेका मुलुकमा डेनमार्क, नर्वे, अल्जेरिया, नाइजर, कम्बोडिया, उरुग्वेलगायत छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था हेर्दा नेपालले डेनमार्कसँग रु ४३ करोड ६० लाख, नर्वेसँग रु १० करोड १६ लाख र अल्जेरियासँग रु सात करोड २५ लाख व्यापार नाफा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *