ईन्द्रावतीको पउने र पाँचपोखरीको आधा अर्व वजेट प्रस्तुत
सिन्धुपाल्चोक, ११ असार । ईन्द्रावती गाउँपालिकाकाे ७८ करोड ४६ लाख ६७ हजारको वजेट प्रस्तुत भएकाे छ । त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिका को वजेट ५५ करोड ८९ लाख २७ हजार पाँच सय रहेको छ ।
संवैधानिक ब्यवस्था अनुरुप स्थानीय सरकारले असार दश सम्ममा आफ्नो आगामी वर्षको नीति, कार्यक्रम र वजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । प्रावधान अनुरुप नै स्थानीय सरकारले आफ्नो नीति, कार्यक्रम र वजेट प्रस्तुत गरेका छन् ।
आईतवार ईन्द्रावती गाउँपालिकाका उपाध्यक्ष शोभाना तामाङले वजेट प्रस्तुत गर्नुभएको हो । शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर निर्माण गरी प्रस्तुत गरिएको ईन्द्रावती गाउँपालिकाको आर्थिक वर्ष ०८०÷०८१ को वजेट सँगै आर्थिक विधेयक, पालिका गान, विनियोजन विधेयक समेत गाउँसभाबाट पारित भएको पालिका प्रमुख झम्क नेपालले जानकारि दिनुभयो ।
त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उपाध्यक्ष सुनिता अधिकारीले स्वास्थ्य, शिक्षालगायत सामाजिक विकासका क्षेत्रमा मूल प्राथमिकता सहित प्रस्तुत नीति कार्यक्रम अनुसार प्राथमिकता क्षेत्र निर्धारण गरि वजेट प्रस्तुत गर्नुभयो । सार्वजनिक सेवाको प्रभावकारिताको लागि सुशासनयुक्त पालिका निर्माण, कृषि, पर्यटन र दिगो पूर्वाधार विकासमा वजेट केन्द्रीत रहेको गाउँपालिका अध्यक्ष टासी लामा ले जानकारि दिनुभयो । गाउँसभाले विनियोजन विधेयक, आर्थिक विधेयक समेत पारित गरेको छ ।
पाँचपोखरी गाउापालिकाले संघिय सरकारबाट वाट ४२ र प्रदेश सरकारबाट ९ करोड बाँकी पालिकाको अन्य आय समेत गरी ५५ करोडको वजेट प्रस्तुत गरेको हो । गाउँसभामा अध्यक्ष लामाले दाउचेत–क्यौरेनी, बाँसखर्क–जतन– वरुवा –याङ्ग्री, मेलमची –भोताङ–लार्के, जतन–गाईपाईला–गाउँपालिका केन्द्र–गुन्सा सडक कालोपत्रे घोषणा नभए सम्म याङ्ग्री र लार्केको पानी काठमाण्डौ लान नदिने समेत घोषणा गर्नुभयो ।